बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक गएराती २ः३० बजेको समयमा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ । गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पाटा पु¥याएर पूर्व तर्फ आउँदै गरेको WB 73 E3056 नम्बरको भारतीय ट्रकमा आगजनी भएको हो ।
१०/१२ जनाको अज्ञात समूहले आगजनी गरेर फरार हुँदा ट्रकका चालक भारत इस्लामपुरका ४० वर्षीय पोदा रायको दाहिने हातको पाखुरा र शरीरको विभिन्न भाग जलेर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
उक्त ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय, अनारमनिबाट खटिएको प्रहरी टोलीले आज बिहान ३ः३० बजेको समयमा नियन्त्रणमा लिएको थियो । उक्त आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको र पछाडिको भागमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया