इलाम (फिक्कल) : इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीमा अनौठो रोग (समस्या) देखा परेको छ । केहिदिन देखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीमा एक्कासि चिच्याउने, बेहोस हुने, खिन्नता व्यक्त गर्ने जस्ता अनौठो रोग देखा परेको हो ।
विद्यालयका १० जना छात्रा र ३ जना छात्रमा आज सम्ममा उक्त समस्या देखिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति सुदर्शन खतिवडाले जानकारी दिए । उनका अनुसार विगत एक महिना देखि एक दुई जनामा गर्दै समूहमै समस्या आउन थालेको छ ।
विद्यार्थीमा समस्या आए पछि सोमबार मनोपरामर्शदाता राजन श्रेष्ठ र स्रोत व्यक्ति खतिवडाले विद्यालयमा गई काउन्सिलिङ गरेका छन् । विद्यालयमा प्रधानाध्यापक, शिक्षक र समस्या भएका विद्यार्थीलाई अलग-अलग राखेर काउन्सिलिङ गरिएको स्रोत व्यक्ति खतिवडाले बताए। मनोपरामर्शदाता श्रेष्ठले तनाव या अन्य कुनै कारणले विद्यार्थीमा उक्त समस्या देखा परेको बताउँछन् ।
उनले उक्त समस्या मास कन्भर्सन डिसअर्डर भएको जानकारी दिँदै केही दिनको प्याकेजमा परामर्श दिनुपर्ने आवस्यकता रहेको बताए । श्रेष्ठले भने विद्यालयमा पहिलो समस्या भएको विद्यार्थीलाई उपचार गराएमा अन्य विद्यार्थीको समस्या अलि चाँडो हल हुन्छ ।’ विशेष गरी पारिवारिक रूपमा समस्या भएका विद्यार्थीमा यस्तो समस्या देखिएको पाइएको छ ।
विद्यालयका प्रधानाध्यापक कुल बहादुर इम्सङले विद्यार्थीमा उक्त प्रकृतिको समस्या बढ्दै जाँदा अन्य विद्यार्थीमा समेत भय उत्पन्न भएको जानकारी दिए। गत वर्ष सूर्योदयकै करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीमा लामो समय सम्म उक्त प्रकृतिको समस्या देखिएको थियो ।
प्रतिक्रिया