पोल्ट्री व्यवसाय संकटमा,धमाधम बन्द हुदै ह्याचरी र दाना उद्योगहरु

सोमबार, २२ फागुन २०७९

पवन अधिकारी

इटहरी । सरकारले गत २०७७ चैतमा पोल्ट्री व्यवसायलाई आत्मनिर्भर व्यवसायका रुपमा घोषणा गरयो । त्यस बेला नेपालमा यो व्यवसाय मजाले फस्टाएको थियो ।

कोरोना महामारीका बेलादेखि अवस्था खस्कन थाल्यो । अहिले विश्व बजारमा देखिएको आर्थिक मन्दीले सबैतिर प्रभावित बनाइरहेका बेला यो व्यवसाय पनि धर्मराएको छ । कुखुरालाई खुवाउने दानाको मूल्यमा अप्रत्यासित बृद्धि भए पनि त्यस अनुसारको फाइदा व्यवसायीहरुले पाउन सकेका छैनन् । यसले गर्दा उनीहरु हतोत्साहित भइरहेका छन् । अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य समेत अत्यधिक बढेपछि लागत मूल्य नपाउने अवस्था रहेको नेपाल ह्याचरी उद्योग संघका कोशी प्रदेशका अध्यक्ष लक्ष्मण हुमागाइँले बताउँछन् । कोशी प्रदेशमा दर्जनभन्दा बढी फिड उद्योगहरु सञ्चालनमा छन् । १६ ओटा ह्याचरी उद्योगहरु सञ्चालनमा रहेकामा केही बन्द भएका छन् । दुई वर्षयता कोशी प्रदेशमा रहेका दाउन्ने फिड, पशुपति फिडस, कामधेनु फिडस काँकडभिटा, अनमोल फिडसलगायत उद्योगहरु बन्द भएका छन् । सञ्चालनमा रहेका उद्योगहरु पनि उत्पादन आधा बढी कटौती गरी सामान्य अवस्थामा चलिरहेको अध्यक्ष हुमागाइँको भनाइ छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य अकासिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ हुमागाइँले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा बेच्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तै अवस्था रहिरहे अहिले सञ्चालनमा रहेका ह्याचरीहरु पनि बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ । सरकारले आफैँ आत्मनिर्भर घोषणा गरेको व्यवसाय धरापमा पर्दासमेत खासै चासो नदिइएको ह्याचरी संघका केन्द्रीय सदस्य निरञ्जन श्रेष्ठले गुनासो पोखे । उत्पादन लागत पनि उठाउन मुस्किल परेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । इटहरीमा २० वर्षदेखि पोल्ट्री व्यवसाय गर्दै आएका लक्ष्मी पोल्ट्री सप्लायर्सका सञ्चालक बासुदेव बरालले कोरोना महामारीको समयदेखि अहिलेसम्म आउँदा निकै घाटा परेको बताए । उनले यही अवस्था रहयो भने अब यस व्यसायलाई निरन्तरता दिन नसक्ने बताए । खुला सीमा नाकाबाट निर्बाध भित्रने गरेका चलला र तयारी मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परिरहेको उनको भनाइ छ । सप्तकोशी फिडस प्रालि खनारका अध्यक्ष सन्तोष कार्कीले भारतीय कुखुरा र चल्लाका कारण आफूहरु मर्कामा परेको बताउछन । उनले जनतासँग क्रय शक्तिसमेत घट्दै गएका कारण बजार माग घटेको दाबी गरे । पहिला प्रतिहप्ता ३५ हजार चल्ला उत्पादन गर्ने गरेकोमा हाल आएर १५ हजारभन्दा बढी चल्ला निकाल्न नसकेको बताए । गत फागुनमा बर्डफलु भएर प्यारेन्ट कुखुराको माउ नष्ट गरेपनि अहिलेसम्म १ रुपैयाँ समेत राहत नपाएको गुनासो गरेका छन् । उनले बर्डफलुका कारण ६ करोडभन्दा बढीको सामान नष्ट गरेको भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाएको उनको गुनासो छ । सबै कागजातहरु पूरा गरे क्षतिपूर्ति दिने भनिएको तर एक वर्ष बितिसक्दा समेत नपाउँदा निरास हुनुपरेको उनले बताए । [caption id="attachment_6486" align="aligncenter" width="1140"] Indoors chicken farm, chicken feeding, farm for growing broiler chickens.[/caption] नेपाल अण्डा उत्पादक संघका केन्द्रिय सदस्य भरत कार्कीले ३ वर्षअघि अण्डाको लागत मूल्य सरकारले ११ रुपैयाँ ५३ पैसा तोकेको भए पनि कृषकले अहिले ८ रुपैया ५७ पैसा मात्रै पाउँदै गरेको बताए । उनले उत्पादन लागत मूल्यभन्दा निकै कममा बेच्नु पर्दा प्रतिअण्डा ४ रुपैयाँ ५० पैसाका दरले घाटा बेहोर्नु परेको बताए । कार्कीले बिचौलियाका कारण बजार तहसनहस भएको र नियमनकारी निकाय समेत मौन बसेकाले समस्या सामाधान हुन नसकेको आरोप लगाए । भारतीय बजारबाट सेतो अण्डा नेपालमा छयापछयाप्ती भित्रने गरेका कारण पनि नेपालका व्यवसायीहरु समस्यामा परेका हुन् । १५ वर्ष अघिदेखि व्यवसाय गर्दै आएका कार्कीले हाल ३० हजार कुखुरा पालेका छन् । कोशी फिडस प्रालि समेत सञ्चालन गर्दै आएका उनले प्रतिघण्टा ५ टनको क्षमता रहे पनि प्रतिदिन ३० टन दाना मात्रै उत्पादन गरिरहेको बताए । अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले पहिले प्रतिदिन ४२ लाख अण्डा उत्पादन हुने गरे पनि अहिले आएर २५ लाख प्रतिदिनमा झरेको बताए । आफूहरुले घाटामा अण्डामा बेच्नुपरेको तर बिचौलियाका कारण उपभोक्ताले प्रतिअण्डा १५ रुपैयाँभन्दा बढीमा किन्नु परिरेको बताए । सरकारले मापदण्ड बनाएर पोल्ट्री व्यवसायलाई हेर्नुपर्ने र विदेश निर्यात गर्नका लागि नीति बनाउनुपर्नेमा उनले जोड दिए । नीतिमा सुधार र लागत मूल्यको ग्यारेन्टी गर्दै पेशाको सुरक्षा नहुञ्जेल पोल्ट्री व्यवसाय फस्टाउन नसक्ने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार