पाँचथर : सडक डिभिजन कार्यालयले पर्याप्त पाइप नल्याउँदा मेची राजमार्गको हेवा खोलामा डाइभर्सन गर्ने काम कहिले सकिएला भन्ने अनिश्चित भएको छ ।
असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगेपछि हेवा पारीको पाँचथर र ताप्लेजुङसम्म टुटेको सडक सञ्जाललाई अस्थायी रूपमा जोड्न डाइभर्सन निर्माण थालिए पनि थोरै संख्यामा मात्रै ह्युम पाइप आउँदा तत्काल चार पाङ्ग्रे साधन हेवा खोला वारपार हुने सम्भावना केहिदिन पछि धकेलिएको हो ।
पुल बगेलगत्तै जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेका विपद् व्यवस्थापन समिति र सर्वदलीय बैठकले हेवा खोला डाइभर्सन गरेर दशैं अगावै खाद्यान्नसहितका अत्यावश्यक वस्तु ताप्लेजुङ पु¥याउने वातावरण मिलाउने निर्णय गरेको थियो ।
सडक डिभिजन इलामले पनि तत्काल बेलिब्रिज बन्ने सम्भावना नरहेकाले डाइभर्सनको काम अगाडि बढाउन तत्परता देखाएको थियो ।
सोहीक्रममा केहिदिनअघि हेवा खोला आइपुगेका सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई नेतृत्वको टोलीले डाइभर्सन गर्न एक मिटर २० सेन्टिमिटर गोलाइ भएका १६ वटा ह्युम पाइप लाग्ने लागत अनुमान गरेर सोही अनुसारका सामाग्री झिकाएको थियो ।
शनिबार अपराह्न हेवा खोलामा ह्युम पाइप आइपुगेपछि सोही दिन काम थालिएपनि १६ थानले एक खोलाको सतहमा तीन भागको एक भाग पनि नपुगेपछि डाइभर्सन निर्माणको अवधि लम्बिने निश्चित भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
‘काम सकेर आइबार साँझदेखि चारपाङ्ग्रे साधन सुचारु गर्ने योजना थियो, त्यो सफल हुन सकेन,’ प्रजिअ कोइरालाले भने ।
डाइभर्सन निर्माणमा थप २० वटा ह्युम पाइप लाग्ने बताइएको छ । ती पाइप इटहरीबाट ल्याउँदै गरेको र आइपुगेपछि डाइभर्सन निर्माणको काम पुनः शुरु हुने सडक डिभिजन इलामका इन्जिनियर विपिन ढुङ्गानाले जानकारी दिए ।
पुल बगेपछि नेपाली सेनाले हेवा खोलामा फड्के निर्माण गरेको थियो । जसकारण मानिस र मोटसाइकल आउजाउ सुरु भएपनि चार पाङ्ग्रे सवारी साधन चलेका छैनन् । जस्ले हेवा पारीको पाँचथर र ताप्लेजुङका अधिकांश स्थानमा खाद्यान्न र इन्धन अभाव हुन थालेको छ ।
यसअघि नै चारपाङ्ग्रे सवारीसाधन वारपार गर्न सक्ने व्यवस्था मिलाउन भनेको सडक डिभिजनले आवश्यक सामग्री थोरै ल्याएर नागरिकलाइ झुलाएको भन्दै आक्रोशसमेत व्यक्त हुन थालेको छ ।
प्रतिक्रिया