इटहरी : इटहरीमा एक महिलाले चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् ।
इटहरी ५ स्थित राजस्व ढाट नजिकै स्थानीय ३९ वर्षीया निलु रसाइली (रायमाझी)ले आज मंगलबार साँझ ६ः१० बजेतिर चक्कुले घाँटी रेटेर आत्महत्या गरेकी हुन् ।
चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा छोरीले देखेपछि उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएपनि अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
‘घटना साँझ ६ः१० बजेतिरको हो । के कारणले आफैँलाई चक्कु प्रहार गरी आत्महत्या गरिन् भन्ने खुलेको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अहिले पनि घटनास्थलमै भएकाले प्रारम्भिक अनुसन्धान गरिरहेका छौँ ।’
अहिले शव अस्पतालमै राखेर प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । घटनामा प्रत्यक्षदर्शी रहेकी मृतक निलुकी छोरी सम्पदा रायमाझीले भनिन्, ‘बुबा औषधी किन्नका लागि बजार जानुभएको थियो । त्यसैबेला ममी भित्र छटपटीमा परेको देखेँ ।’
उनले घाँटी रेटिएको देखेपछि आफू आत्तिएर छरछिमेकमा खबर गरेको सुनाइन् । उनको देब्रे पट्टीको एउटा हात र एउटा खुट्टा प्यारालाइसिस थियो । ‘एकैछिनअघि बुबा ममीसँग औषधी किन्न गफ गरेर नै बजार जानुभएको थियो । तर, अचानक ठूलो स्वरमा कहालिएको सुनेपछि म भित्र गएर हेर्दा यस्तो घटना भयो,’ विक्षिप्त अवस्थामा रहेकी ती बालिकाले भनिन् ।
मृतक महिलाका श्रीमान सन्तोष रायमाझी फोटोग्राफर हुन् । उनका दुई श्रीमती छन् । निलु जेठी श्रीमती हुन् भने कान्छी श्रीमती वैदेशिक रोजगारीमा रहेकी छन् ।
‘हामीले प्रारम्भिक अनुसन्धान सुरु गरेर शव पोस्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउँछौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अब बाँकी अनुसन्धानपछि मात्रै खुल्छ ।’ प्रहरीले उक्त घटनापछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया