भोजपुर : दसैंमा पनि चलेन अरुण नदीको फेरी, सर्वसाधारणलाई सास्ती

विहीबार, २४ असोज २०८१
भोजपुर : भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा सञ्चालित फेरी यस वर्ष दसैंमा पनि चल्न सकेन । बर्खा सकिएर दसैं सुरु भइसक्दा पनि फेरी सञ्चालनमा आउन नसक्दा यात्रुहरूलाई समस्या हुने गरेको छ । भोजपुरको षडानन्द नगरपालिका ६ र संखुवासभाको खाँदबारी नगरपालिका ९ को सिमानास्थित सत्तीघाटमा सञ्चालित फेरी बर्खा लागेर अरुण नदीमा पानीको बहाव बढेसँगै बन्द भएको थियो । नदीमा बहाव घटेपनि अहिलेसम्म बाढीको असर कायमै छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासका अनुसार दसैंमा चलाउन सकिन्छ कि भनेर बुधबार परीक्षण गरिएको थियो । तर, सम्भव भएन । वर्षा रोकिए अबको एक सातामा फेरी सञ्चालनमा आउने उनले बताए । पहाडी क्षेत्रमा अझै वर्षा भइरहेका कारण नदीमा पानी धमिलो नै छ । जसकारण फेरी सञ्चालनमा आउन नसकेको उनले बताए । उनका अनुसार दसैं मनाउन सत्तीघाट नाका हुँदै अधिकांश मानिसहरू आउने गरेका छन् । फेरीमा राखेर सवारीसाधन तार्ने गरिन्थ्यो । दसैं मनाउन आउनेहरूले अहिले फेरीको प्रयोग गर्न नपाएको भोजपुरको दिङ्लास्थित होटल व्यवसायी संघका अध्यक्ष नरेन्द्र तामाङले बताए । अरुण नदीमा फेरी बन्द भएपछि लामो समयदेखि यातायात सेवा अवरुद्ध भएको छ । भोजपुरको उत्तरी क्षेत्रमा खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री आयात तथा सर्वसधारणलाई आवतजावतमा समस्या भइरहेको तामाङको भनाइ छ । फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिका जाने यात्रुहरू अरुण नदीमाथिको पुल पैदल हिँडेर तर्न बाध्य छन् । सामान भरियालाई बोकाएर वारिपारी पुर्याउनुपर्ने अवस्था छ । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुई वटा पक्की पुलसमेत अझै निर्माण सम्पन्न भइसकेको छैन । अरुण नदीको सतीघाट फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका सर्वसधारणलाई प्रत्यक्ष लाभ पुगेको थियो । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन अरुण नदी तार्ने गरिन्थ्यो । होटल व्यवसायी संघका अध्यक्ष तामाङले फेरी बन्द भएका कारण लामो समयदेखि सर्वसाधारण समस्यामा परेको सुनाए । फेरी सञ्चालन नहुँदा यस वर्ष दसैंमा पनि बजार सुनसानजस्तै रहेको उनले बताए । उनका अनुसार संखुावसभा हुँदै भोजपुरको उत्तरी क्षेत्र आउने सर्वसाधारणले सडकका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा सास्ती भोग्नु परिरहेको छ । ‘जताततै सडक भत्किएको छ । सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘बाटोका कारण सर्वसाधारण दसैं मनाउन सजह हिसाबले घर पुग्न पाएनन् । निक्कै कष्टका साथ पैदलयात्रा गर्नुपर्ने अवस्था छ । मेयर उदासले फेरी बन्द भएकै कारण दसैंमा पनि ढुवानी महँगो परेको बताए । भरियालाई बोकाएर पुलबाट सामान वारपार गर्नुपर्दा ढुवानी खर्च धेरै लाग्ने गरेको उनको भनाइ छ । फेरी सञ्चालनमा आएको भए भरियालाई सामान बोकाएर वारपार गर्नुपर्ने बाध्यता हट्नेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार