दसैँमा श्रम गरेरै पन्छाए स्थानीयले सडकको पहिरो

शनिबार, २६ असोज २०८१
पाँचथर : दशैको टिका लगाउने अघिल्लो दिन महानवमी बिहान प्राङवुङ ५ लुङमादिनका एक हुल युवा धर्मटार नजिकै झोलुङ्गे पुलमा डिजेलका भाँडा बिसाएर थकाइ मारिरहेका थिए । पहिरोले अवरुद्व भएको सडक खुलाउन खटाइएको स्कावेटर डिजेल सकिएर बाटोमै अभर परेपछि हुक्तङ युवा जमात प्राङवुङमा आवद्व ती युवाले डिजेल लिएर फर्किदै बताए । त्यहाँबाट झण्डै एक घण्टाको पैदल दूरीमा रहेको शिरिषे नजिकै ओखरबाटेमा खसेको पहिरो पन्छाउन अर्को समूहका युवा खटिरहेका भेटिए । उनीहरू कोही पहिरोले भत्काएको सडकमा टेवा पर्खाल बनाउन, कोही माटो सोहोर्न त कोही चाँहि ढुङ्गा बोक्न व्यस्त थिए । विजया दशमीको अघिल्लो दिन साँझसम्म सम्म पाँचथरको फालेलुङ ५ प्राङवुङस्थित नागरिकको बाटो खुलाउनै व्यस्त रहे । असोज ९ देखि १२ सम्म भएको अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो र ढिस्का लड्नका साथै सिदिन र प्राङवुङलाई सिमाना छुट्याएर बग्ने मुवा खोलाका दुईवटा पुल बाढीले बगाएपछि प्राङवुङका विभिन्न वस्तीमा यो वर्ष दसैंको रौनक छाएको छैन । भत्किएको बाटोको मर्मत र पुलको विकल्पमा गाडी तार्ने उपाय नभएकाले यातायात र ढुवानीका साधन आउजाउ गर्ने अवस्था नरहेकाले स्थानीय नवरात्र भरिनै बाटो मर्मतमै व्यस्त भएका हुन् । प्राङवुङमा असोज ११ गतेदेखि सवारी र ढुवानीका साधन सञ्चालन हुन सकेका छैनन् । पुल र बाढो घाटो बाढीपहिरोले क्षत, विक्षत भएपछि प्राङवुङ प्राकृतिक नाकान्दीमा परेको हो । अधिकांश गाडी गाउँमै थुनिदाँ शुक्रबार मध्याह्नसम्म दसैंका लागि उपभोग्य वस्तु ढुवानी गर्न नसकिएको प्राङवुङ बजारका व्यवसायी शिल्प राई बताँउछन् । [caption id="attachment_67511" align="alignnone" width="1152"] सडक खुलाउन श्रममा जुटिरहेका पॉचथरको फालेलुङ ५ प्राङवुङका नागरिक ।[/caption] फालेलुङ ६ ओगेम्बाबाट मुवा खोला–लुदिन–खेदोक–प्राङवुङ जोड्ने सडक स्थानीयले पाँच दिन लगाएर सफा गर्दै बिहीबार साँझ प्राङवुङ बजारसम्म पु¥याएका थिए । त्यसपछि शुक्रबार बिहानदेखि ट्याक्सी र पिकअप सदरमुकाम झरेर बेलुका केही सामाग्री लिएर प्राङवुङ पुगेका छन् । त्यहाँबाट हातिखेम्बा, टुनिबोटे र स्याधापा जस्ता स्थानमा सामग्री लैजाने अझै सकिएको छैन । सिदिनको थोक्पनदेखि धर्मेटार–लुमाङदिन–शिरिषे–सिस्नेटार हुँदै डम्फुचोक जोड्ने बाटो अझै खुलाइएको छैन । यस सडक खण्डमा पर्ने धर्मेटार नजिकैको मुवा खोला पुलको प्राङवुङ साइड बाढीले क्षति पु¥याउनका साथै सडकका विभिन्न स्थानमा पहिरो गएको छ । प्राङवुङ तर्फबाट भने डम्फुचोक–गौतम चौतारो–शिरिषे हुँदै लुमाङदिनसम्म शुक्रबार साँझ स्थानीयले श्रम गरेर बाटो खुलाएको स्थानीय सन्दीप थाम्सुहाङले बताए । पुल र सडक मर्मतमा जुटेका स्थानीयले ठूलो पहिरो गएका ठाउँमा स्काभेटर चलाएका थिए । तर स्काभेटरमा डिजेल सकिदाँ कहिले फालेलुङ ३ को भञ्ज्याङ त, कहिले वडा नम्बर ७ को सिदिनदेखि बोेकेरै काम चलाइएको स्थानीय अम्बिका नेपालले बताए । ‘अघिल्ला दिन भञ्ज्याङ र सिदिनबाट बोकेरै काम चलाइयो । सरसफाइ गर्ने स्काभेटर ओखरबोटे पुगेपछि डिजेल सकिएर काम रोकियो । त्यसपछि पुनः सिदिनदेखि ल्याएर काम चलायौं,’ नेपालले भने । विजयादशमीको टीका लगाउने साइत नजिकिदैँ जाँदासम्म प्राङवुङका अधिकांश पसलमा खाद्यान्नसहित दसैंका लागि आवश्यक सामाग्री पुग्न नसकेको स्थानीय बताउँछन् । प्रतिकूल मौसम, इन्धन अभाव पर्याप्त स्रोत साधनको अभावका बाबजुद पनि स्थानीय बाटो खुलाउन श्रमदानमा जुटेका थिए । फालेलुङ ५ र ६ को सिमानामा बाढीले क्षति पु¥याएको मुवा खोला माथिल्लो पुलमा ढुङ्गा भरेर गाडी तर्ने वातावरण बनाएका थिए । यही बाटो शुक्रबार साँझ फिदिमदेखि केही पिकअपले खाद्यान्नसहितका सामाग्री बोक्न थालेपछि सहज भएको स्थानीयको भनाइ छ । अब धर्मटार र थोक्पन जोड्ने सिमानाको मुवा खोलामा बिग्रेको तल्लो पुल मर्मत गर्दा थोक्पनतर्फबाट पनि यो बाटो लुमाङदिन पुग्छ । ‘बाटो बन्यो भने दसैँ मान्न आफन्तहरू सजिलै आइपुग्छन्, खाद्यान्न ढुवानीमा सहजता हुन्छ । नत्र दसैं खल्लो हुन्छ भनेर मरिहत्ते गरेका हौं,’ नेपालले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार