खनार बचतका सञ्चालकहरू धरौटीमा छुटे : पीडितहरूको बिचल्ली

बुधबार, ०७ कार्तिक २०८१
इटहरी : इटहरीमा रहेको खनार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदीप तामाङ ३५ लाख धरौटी बुझाएर साधारण तारेखमा रिहाइ भएका छन् । बचतकर्ताहरुको रकम फिर्ता गर्ने सम्बन्धमा कुनै सहमति नभइ उनी रिहाइ भएपछि पीडितहरू थप पीडामा परेका छन् । गत जेठ पहिलो साता उक्त सहकारीका पीडितहरूले बचत फिर्ता दिन नसकेको भनेर इटहरी उपमहानगरपालिकासहित इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी गरेपछि पक्राउ परेका तामाङ जिल्ला अदालत सुनसरीमा ३५ लाख धरौटी तिरेर रिहाइ भएका हुन् । उनीसँगै पक्राउ परेका संस्थाका ब्यवस्थापक धर्मेन्द्र दास १५ लाख तथा सदस्यहरू सरोज शिवाकोटी र गोविन्द श्रेष्ठले जनही दुई लाख धरौटी बुझाएर रिहाइ भएका छन् । एक करोड ९५ लाख रुपंैयाँ अपचलन भएको भनिएको खनार बचतका पीडितहरूले बचत फिर्ताका लागि भनेर निवेदन दिएको भएपनि सहकारीका मुख्य सञ्चालकहरू नै अदालतबाट धरौटी बुझाएर रिहाइ भएपछि पीडितहरू थप पीडामा परेका छन् । पीडितहरूको पैसा फिर्ताका बारेमा न उपमहानगरले कुनै जवाफ दिन सकेको छ, न धरौटी बुझाएर रिहाइ भएका ब्यक्तिहरूले नै जवाफ दिएका छन् । इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले भने सहकारीका सञ्चालकहरू रिहाइ भएपनि बचतकर्ताहरूको रकम कसरी फिर्ता गर्न सकिन्छ भन्ने विषयमा आफूले कानुनी परामर्श गरिरहेको बताए । उनले यसअघिको मिसिल झिकाएर सो बमोजिम अध्ययन गरेर निर्णय गर्ने जनाए । मासिक बचत गर्दा रकम डुबेपछि सहकारी पीडित रहेकी निर्मलादेवी अधिकारीले सञ्चालकहरू छुटेसँगै अब कसरी रकम प्राप्त हुन्छ भन्नेबारे अन्यौलमा रहेको बताइन् । उनले भनिन्, ‘बरु हिरासतमै हुँदा पैसा आउँछ होला भन्ने आश थियो । अहिले उहाँहरू निस्कुनभएको छ । फोन गर्दा फोन नै रिसिभ हुँदैन । तर, हामी जुनसुकै हालतमा पनि पैसा फिर्ता लिएरै छाड्छौं ।’ छोरीलाई उच्च शिक्षा अध्ययन गराउनका लागि मासिक बचत गरेकी उनले पैसा फिर्ता नआएसँगै छोरीलाई पढाउन हम्मेहम्मे परेको बताउँछिन् । चिनजान र आफन्त भनेर संस्थाले जथाभावी बजारमा लगानी गरेपछि पैसा उठ्न नसकेर संस्था डुबेको उनको भनाइ छ । ‘कारागारबाट निस्केपछि भेट्न आउँछु भन्नुहुन्थ्यो । तर अहिलेसम्म अध्यक्षज्यू आउनु भएको छैन,’ अर्की पीडित रोश्नी बस्नेतले भनिन् । संस्थामै कलेक्टरको काम गर्दै आएकी बस्नेतले बजारमा पैसा फिर्ता गर्न नसक्दा मुख देखाउन गाह्रो भएको बताउँछिन् । बचतकर्ताहरू घरमा आएरै पैसा माग्ने भएकाले पनि घरमासमेत आफूलाई असर परेको उनको भनाइ छ । बस्नेत र अधिकारी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै भावना निरौला, अञ्जु चौधरी, उमा कार्की, जय बहादुर बस्नेत, सूर्यनाराण राजधामीले पनि सहकारीले बचत फिर्ता गर्न नसक्दा समाजमा खुल्लम खुल्ला निस्केर हिँड्न समस्या भएको बताउँदै आएका छन् । सहकारीले आफ्नो बचतको रकम नदिए वा आनाकानी गरे बचतकर्ता सदस्यले सहकारी विभागमा उजुरी गर्नसक्ने व्यवस्था छ । सहकारी संचालकहरूले आफैँ बचतकर्ताको पैसा नदिए उनीहरूको जायजेथा बेचेर भए पनि बचतकर्तालाई भुक्तानी दिइने व्यवस्था छ । यसबारे संस्थाका अध्यक्ष सुदीप तामाङलाई बुझ्न पटकपटक सम्पर्क गरेपनि उनको फोन उठेन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार