धरान । भेडेटारमा रहेको पाथीभरा मन्दिरमा पूजा गर्न आउने भक्तजनहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । सेन वंशीय राज्यका सेनाले पुजा अर्चना शुरु गरेको कथन रहेको मन्दिरमा भाकल पुरा गर्न आउनेको भिड बढ्न थालेको हो ।
पाथीभरा देवीको मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेको छ । भेडेटार बजारबाट आधा घण्टाका पैदल दुरीमा रहेको पाथीभरा मन्दिर तत्कालिन सेन वंशीय राजाले स्थापना गरेको सागुरीगढीमा तैनाथ सेनाहरुले निशान देवीको पुजा गर्न थालेसंगै पाथीभरा देवीको स्थापना भएको पाथीभरा मन्दिरका मुख्य पूजारी बलबहादुर लिम्बू बताउँछन् ।
१४ सय ५१ मिटरको उचाईमा रहेको देवीको मुर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पुजा गरिदै आएको छ । ताप्लेजुङको पाथीभरा देवीको मन्दिर देखिने भएकोले भेडेटारमा रहेको पाथिभरा मन्दिरमा भाकल गर्न आउने भक्तजनको भीड लाग्ने गरेको हो ।
ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरुले यहीबाट भाकल चढाउने गरेको पुजारी लिम्बूले बताउनुभयो । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउँछन् ।
धरान–१५ का भीम लिम्बूले ‘ठूलो पाथीभरा (ताप्लेजुङको पाथीभरा) को भाकल भए पनि यहीबाट ठूलो पाथीभरा हेरेर पूजा गरेको’ बताउनुभयो । भेडेटार बजार देखि ५ सय मिटर सम्म सवारी साधनमा र करिब २ सय मिटर पैदल हिडेपछि मन्दिर पुग्न सकिन्छ ।
पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनेको छ । अझ यसको प्रचारप्रसारसंगै मन्दिरको व्यवस्थापनमा समाजमा विभिन्न पक्षबाट ध्यान पुग्न थालेपछि यसको महत्व अझ बढेर गएको छ ।
केही समय अगाडि बराह ज्वेलरी इण्डिष्ट्रिज प्रालिले मन्दिरका प्रवेशद्वार निर्माण, भेडेटारका स्थानीयले यसको विकासका लागि गरेको पहलले पनि धर्मालम्बी आउने वातावरण दिनप्रतिदिन सिर्जना हुदै गएको हो ।
प्रतिक्रिया