झापामा बसको ठक्करबाट हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु

बुधबार, ०७ कार्तिक २०८१
झापा : झापामा बसको ठक्करबाट हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु भएको छ । यात्रु लिएर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको रात्री बसको ठक्करबाट हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडकखण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुभबार (आज) साँझ मृत्यु भएको हो । मृतक नातिनीको नाम तत्काल खुलेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीका अनुसार प्र–१–०१–००१ ख ४३३१ नम्बरको बसले पश्चिम दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो । साइकलमा सवार रहेका उनीहरूको मृत्यु भएपछि अहिले पूर्व पश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने दुर्घटनामा संलग्ग्न बस तोडफोड गरेका छन् । आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। बस र बस चालक जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय विशाल ठटाल प्रहरी चौकी केरखाको नियन्त्रणमा रहेका छन् । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रोशित स्थानीयबासीले प्रहरी चौकीभित्र रहेको बसमा ढुंगामुढा प्रहार गर्दा बससँगै प्रहरी कार्यालयको झ्यालमासमेत क्षति भएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दको कमाण्डमा ७० जना प्रहरी खटिएका छन् भने सशस्त्र प्रहरीका कार्यालय पाडागुजेबाट एसपी निओन खड्काको कमाण्डमा ७० जना सशस्त्र प्रहरी खटिएका छन् । प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रु ग्याँससमेत प्रहार गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार