विराटनगर : असोज दोस्रो साताको अविरल वर्षाका कारण पुगेको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्नका लागि कोशी प्रदेश सरकारले मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।
उक्त कोष कोशी प्रदेश सरकारले नै निर्माण गरेको हो । कोषमा ४० करोड रुपैयाँ जम्मा गरेर काम सुरु गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
कोशी प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री अधिकारीले कटौती गर्न नमिल्ने रकमबाहेक प्रदेश सरकार र वित्तीय समानिकरण अनुदान श्रोतमा चालु खर्च शिर्षकहरुमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको बताए ।
उनका अनुसार कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने र सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने एवं कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको छ।
बाढी पहिरोका कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।
मन्त्री अधिकारीका अनुसार क्षति भएका संरचनालाई दीर्घकालीन र तत्काल गर्ने काम छुट्याएर पुनःनिर्माण र मर्मतसम्भारको काम द्रुत गतिमा अगाडि बढाउने सरकारको तयारी छ ।
त्यस्तै, प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी दोश्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया