भारतबाट विराटनगर ल्याइएको ६१ लाख बढी मूल्यको फूलका बिरूवा नष्ट

विहीबार, ०८ कार्तिक २०८१
विराटनगर : भारतबाट अवैध रूपमा ल्याइएको ६१ लाख बढी मूल्यको फूलका बिरुवा विराटनगरमा नष्ट गरिएको छ । पाँच हजारभन्दा बढी फूलका बिरूवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर खाडल खनेपछि पुरेर नष्ट गरेको हो । विराटनगर महानगरपालिका–१४ मा हिरा अन्सारीले सञ्चालन गरेको डायमण्ड नर्सरीमा ल्याइएका १२ प्रजातिका ५ हजार १ सय फूलका बिरूवा बिहीबार नष्ट गरेको हो । भारतबाट यूपी ६३ एटी ४६७६ नम्बरको ट्रकमा ल्याइएका बिरूवा सशस्त्र प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको थियो । सशस्त्रले बरामद गरेका बिरूवा ६१ लाख रूपैयाँभन्दा बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा एउटा गमालाको मूल्य एक हजार दुई सय पर्ने गरेको छ । बिरूवा भारतबाट नेपाल ल्याउँदा कोकोपिट (नरिबलको बोक्रा तथा काठको धुलो) मा ल्याउनुपर्नेमा गमलाको माटोसहित ल्याएपछि अवैध भएको सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका डीएसपी देवराज विष्टले जानकारी दिए । नर्सरीका सञ्चालक अन्सारीले सम्पूर्ण भन्सार प्रक्रिया पूरा गरेर आफूले फूलको बिरुवा ल्याइएको बताए । प्रहरीले भने आवश्यक सबै मापदण्ड पूरा गरेर भन्सार चेकजाँच गरी बिरूवा ल्याए पनि माटो भने ल्याउन नपाइने बताएको छ । भारतीय माटोका कारण कीटजन्य जीवजन्तु तथा संक्रामक रोग बढ्न सक्ने भएकाले बिरुवा नियन्त्रणमा लिएर नष्ट गरिएको डीएसपी विष्टले बताए । भारतबाट ल्याइएकोमध्ये ६ सय बिरूवामा मात्रै माटो भेटिएएको थियो । बाँकी बिरूवामा कोकोपिट राखिएको थियो । नियन्त्रणमा लिएका बिरूवा एरिका प्लामका ७ सय थान, रेड क्याकिरा ५ सय, टिकोम १ हजार, एडेम्म ४ सय, क्रोटोन १ सय, एम्सेवर २ सय, गोल्डेन पाइन २ सय, फिकस लाराटा ५ सय, फोक्साइल्ड प्लाम ४ सय, फिस्टेज प्लाम ४ सय र अन्य प्रजातिका रहेका छन् । नर्सरीका सञ्चालक अन्सारीले भने सबै भन्सार चेकजाँच गरी सबै प्रक्रिया पूरा गरेर बिरुवा ल्याएको भएपनि के कारणले पक्राउ गरिएको हो भनेर आफूलाई थाहा नभएको बताए । यता प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय मोरङका प्राविधिक प्रदीप यादवले कात्तिक ६ गते विराटनगर भन्सार कार्यालय (आईसीपी)भित्र बिरूवा जेकजाँच गर्दा कुनैपनि बिरूवामा माटो नभेटिएको र कोकोपिटसहितको बिरूवा स्वास्थ पाइएकाले आफूहरूले नेपाल ल्याउन दिइएको बताए । त्यसपछि के भयो भनेर आफूहरूलाई थाहा नभएको उनको भनाइ छ । विशेषगरी व्यापारीहरुले भारतबाट सस्तो मूल्यमा बिरूवा नेपालमा ल्याउने र महँगोमा बिक्री गर्ने गरेको पाइएको छ । नेपालमा उत्पादित बिरूवा भारतबाट ल्याइने बिरूवा भन्दा महँगो पर्ने व्यापारीहरूको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार