विराटनगर : नेपाल खेलकुद महासंघ (नेकोस) कोशी प्रदेश आईटीए तेक्वान्दो संघको अध्यक्षमा विराटनगरका अरुण राठी चयन भएका छन् ।
उनी आईटीए तेक्वान्दो संघ मोरङको पूर्वअध्यक्ष हुन् । संघको मंगलबार विराटनगरमा भएको प्रथम प्रदेश सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिवमा ओमकुमार श्रेष्ठ, सहसचिवद्वयमा गोपाल पोद्दार र सुमिरा श्रेष्ठ तथा कोषाध्यक्ष प्रदीपकुमार कर्ण चयन भए ।
त्यस्तै, सदस्यहरूमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी चयन भएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीमा गरेको लगानी कहिले पनि नडुब्ने बताए । उनले खेलकुद सम्बन्धी स्पष्ट कानुन नहुँदा तीन तहका सरकारसँग समन्वय गरेर काम गर्न गाह्रो परिरहेको उल्लेख गरे ।
सरकारले नयाँ खेल नीति ल्याउन नसक्दा कर्मचारीमा पनि अन्योल रहेको बस्नेतको भनाइ छ ।
‘मैले प्रदेशका सबै प्रशिक्षहरूलाई स्पष्टसँग भनेको छु । तपाईंहरू प्रशिक्षक भएर प्रशिक्षण गर्दै खेलाडी उत्पादन गर्नुहोस् । प्रशिक्षकहरूले आफ्नो काम कर्तव्य के हो भन्ने बुझ्न जरुरी छ । प्रशिक्षण गराउँदै राम्रो खेलाडी उत्पादन गर्नु मात्रै होइन पदक जित्ने बनाउनुपर्ने जिम्मेवारी पनि प्रशिक्षकको हो,’ उनले भने ।
आफ्नो काम र आफू काम गर्ने संस्थाप्रति उत्तरदायी हुन नसक्ने प्रशिक्षकले राजीनामा दिनुपर्नेसमेत बस्नेतले बताए । नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ तरिकाले प्रशिक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
राजनीतिक दलका नेताहरूले खेलकुद बुझेका दिन मात्रै नेपालले सबै खेलमा पदक जित्ने बस्नेतको भनाइ छ ।
तीन तहका सरकारले पर्याप्त बजेट राखेर खेलको विकास गर्न जरूरी रहेको उनले बताए ।
‘दशौं खेलकुदका लागि कोशी प्रदेश सरकारले १० करोड रुपैयाँ छुट्याएको छ । मुलुक आज संकटमा हुँदाहुँदै पनि प्रदेश सरकारले खेलकुदमा ठूलो रकम लगानी गरेको छ । अहिलेको प्रदेश सरकारले खेलकुदलाई बुझेको हुँदा अन्यत्रको बजेट कटौती गरेर भए पनि खेलकुदको विकासका लागि बजेट दिएको छ,’ बस्नेतले भने ।
आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले नेपाललाई संसारमा खेलकुदले चिनाएको बताए ।
‘खेलकुदले एकआपसमा सद्भाव कायम गरी राष्ट्रलाई नयाँ पहिचान दिएर संसारलाई चिनाउने काम गरेको छ,’ कार्कीले भने, ‘खेलकुदको विकासमा सरकारले लगानी बढाउनुपर्ने हुन्छ ।’
प्रतिक्रिया