धरान : धरान उपमहानगरपालिका १५ की ४३ वर्षीया भीमा राईको टिपरले किचेर मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै चक्काजाम गरिएको छ ।
कात्तिक गत ८ गते मोरङको सुन्दरहरैँचा नगरपालिका १० किस्ती पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले किचेर को २८ प ६१३२ नम्बरको स्कुटर चालक रहेकी धरानकी भीमाको मृत्यु भएको थियो ।
उक्त घटनामा मृत्यु भएको पीडित परिवारलाई प्रहरीलेसमेत साथ बेवास्ता गरेको भन्दै बुधबार धरानमा क्षतिपूर्तिसहितको माग राख्द नेविसंघका विद्यार्थीहरूले चक्काजाम गरेका हुन् ।
परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने र चालकलाई कानुन बमोजिम सजाय हुनुपर्ने मागसहित “मान्छे मार्न पाईदैँन, टिपर संघ खारेज गर, पीडित पक्षलाई उचित क्षतिपूर्ति व्यवस्था गर, मान्छे मारेर भाग्न सिकाउने टिपर संघ खारेज गर” लगायतको प्ले कार्डसहित विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।
मृत्तक राईका श्रीमान खविराज राईले दुर्घटनामा श्रीमतीको मृत्युपश्चात न्यायको लागि इलाका प्रहरी कार्यालय बेलबारी जाँदा न्याय अनुभूति नभएको बताए ।
“मेरो माग भनेको उचित क्षतिपूर्ति र चालकलाई सजाय हुनुपर्छ भन्ने हो,” उनले भने ।
टिपर संघबाट कोही नआएको र अन्याय गरेकोले बाध्य भएपछि धरानमा आन्दोलन गर्नुपरेको उनले बताए । “आन्दोलन गरेर अरूलाई दुःख दिन चाहेको होइन । मलाई र मेरो परिवारलाई जस्तो अरूलाई नपरोस् भनी चेतनाको लागि शान्तिपूर्ण आन्दोलन गरेको हो,” उनले थपे ।
आन्दोलनका कारण सवारी साधनहरू आवातजावतमा रोक भएपछि भानुचोकमा तनावग्रस्त भएको थियो । तनावग्रस्त भएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवरको संयोजनमा वार्ता भएपछि आन्दोलन स्थगित गरिएको प्रहरीले जनाएको छ ।
वार्तामा पीडित परिवारलाई टिपर संघसँग भेट गराएर छलफल गराउने निर्णय भएको नेविसंघका नेता सभापति विनोद मगरले बताए । टिपर संघले परिवारलाई उचित क्षतिपूर्ति र टिपर चालकलाई सजाय नभए पुनःआन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया