काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ ।
प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो ।
बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीन वटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् ।
तीमध्ये वडा नं. ५ टंगालस्थित व्यावसायिक भवन निर्माण तथा सञ्चालन, वडा नं. १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नं. १ कै नक्सालस्थित कुमारी बैङ्कको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् ।
त्यसैगरी प्रशासन विभागका तर्फबाट कलङ्की मालपोत कार्यालयलाई रु. १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु. १५ लाख अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ । साथै, महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारीसमेत बैठकमा प्रस्तुत गरिएको थियो ।
सामाजिक विकास विभागका प्रस्ताव अन्तर्गत बाल कल्याण अधिकारी तोक्ने र काठमाडौँ महानगरपालिका सिप तथा तालिम परिषद् स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने दुई प्रस्ताव पारित भएका छन् ।
स्वास्थ्य विभागतर्फबाट काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बिचको सम्झौता नवीकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत भएको छ । ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ ।
कानुन तथा मानव अधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरिएको छ भने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित भएको छ ।
त्यस्तै सार्वजनिक निर्माण विभागले हनुमान ढोका दरबार परिसर र डबली क्षेत्र अन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकता अनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय अनुमोदन गरिएको छ ।
सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई शहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
विविध प्रस्ताव अन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही रु. २२ लाख ९९ हजारका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी आठ हजार प्रदान गर्ने निर्णय पनि गरिएको छ ।
यी सबै प्रस्ताव पारित भएसँगै काठमाडौँ महानगरपालिकाको ४३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।
प्रतिक्रिया