कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

सोमबार, २६ कार्तिक २०८१
बाकु (अजरबैजन) : अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ । उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रूपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिए । यसैगरी उद्घाटन सत्रमा बोल्दै निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेलेदले सबैको सहकार्य र एकताले जलवायुजन्य समस्या निराकरणमा सहयोग पुग्नेमा जोड दिए । “म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु कि सबैको सकारात्मकताले नै जलवायु न्यूनीकरणका नीति कार्यान्वयनलाई बलियो बनाउन सकोस्”, उनले भने । संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको बताए । जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट हुनुपर्नेमा उनको जोड छ । आगामी नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते)सम्म चल्ने कोप सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् । राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा. प्रमेश्वर पोखरेलले जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्वन उत्सर्जनले निम्त्याएका समस्या समीक्षा गर्दै यसको न्यूनीकरणका लागि कोप सम्मेलनमा समाधान पहिल्याउने विश्वास व्यक्त गरे । विकासशील देशहरूले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनले निष्कर्ष निकाल्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि विश्वसमक्ष नेपालको धारणा प्रस्तुत गर्दै छन् । एक सय ९२ भन्दा बढी मुलुकको राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरू सम्मिलित सम्मेलनमा उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई दर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्ने क्रममा हालको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताएका छन् । यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । –रासस

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार