भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

शुक्रबार, ०७ मंसिर २०८१
काठमाडौँ : गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज (शुक्रबार)भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रूपमा नलिन आग्रह गरे । “३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,” गृहमन्त्री लेखकले भने, “शान्ति सुरक्षा नभएर पुनःमतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।” निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिनेस्थिति आउन नदिन आग्रह गरे । “लोकतन्त्रको आधार भनेकै निर्वाचन हो,” मन्त्री लेखकले भने, “त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस् ।” उनले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोवार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखापरेको बताए । लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा जिल्लामा जोड दिन निर्देशन गर्दै गृहमन्त्री लेखकले भने, “भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन ।” त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकाप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको बताए । “जिल्लामा हेडस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुँदैछन्,” उनले भने, “लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन ।” गृहमन्त्री लेखकले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजस्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रूपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार