रौतहट – रौतहटको कटहरिया नगरपालिकामा २१ वर्षीया नवविवाहित सानिया प्रविनको शंकास्पद मृत्यु प्रकरणमा उनका श्रीमान अरमान राय भाट फरार भएका छन्। घटनापछि माईती पक्षले दाइजोका कारण हत्या भएको आरोप लगाउँदै कडा कानुनी कारबाहीको माग गरेका छन्।
गत आइतवार दिउँसो सानियाको शव आफ्नै घरको कोठामा साडीको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो। शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो।
मृतकका बाबु महमद मोलाजीम रौशनका अनुसार छोरीको विवाह ६ महिना अघि कटहरिया–५ का अरमान राय भाटसँग भएको थियो। बिहेमा फर्निचर, वासिङ मेसिन, फ्रिज, कुलर, सुनका गहना, औंठी लगायतका सम्पूर्ण दाइजो दिइएको थियो। यद्यपि, श्रीमान र ससुराली पक्षले थप पैसा, मोटरसाइकल र एसी जडानका लागि दबाब दिँदै निरन्तर छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले आरोप लगाए।
मृतक सानियाले घटना हुनुअघि एक दिन अघि मात्र आफ्ना बाबुसँग फोनमा कुरा गर्दै “बुबा, गाडी लिएर भोलि आउनु होला, सँगै घर जाने हैं” भनेकी थिइन्। तर, माईतीमा जानुअघि नै उनको शंकास्पद मृत्यु भएको छ।
मृतकका काका सोलाजीम रौशनका अनुसार सानियाको मृत्युमा दोषीलाई जोगाउन स्थानीय बिचौलियाहरू सक्रिय रहेको र उनीहरूले प्रहरी प्रशासनमाथि समेत दबाब सिर्जना गर्न खोजेको आरोप छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाबारे अनुसन्धान भइरहेको र फरार मुख्य आरोपी अरमानलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन्। उनले कुनै पनि दबाब र सिफारिसको प्रभावमा नपरी सत्यतथ्य सार्वजनिक गरिने प्रतिबद्धता जनाएका छन्।
सानियाको सासू ससुरासहितका परिवारले भने यो घटना आत्महत्याको रहेको दाबी गरेका छन्, तर माईती पक्षले छोरीको हत्या गरी आत्महत्या देखाउन खोजिएको आरोप लगाउँदै कडा कारबाहीको माग गरिरहेका छन्।
यस प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको र दोषीमाथि कडा कानूनी कारबाही गरिने बताएको छ।
प्रतिक्रिया