पाँचथर : पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक मावि कक्षा ९ मा अध्ययनरत छात्राले सौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा चकित बनाएको छ। मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी ती १५ वर्षीया छात्राले सौचालयभित्र शिशु जन्माएकी थिइन्।
जन्मेको शिशु मृत अवस्थामा भेटिएपछि प्रहरी चौकी नांगीनबाट गएको टोलीले ती किशोरी र उनीसँग बस्ने एक आफन्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता इन्स्पेक्टर रुपेश तामाङले जानकारी दिए।
घटनापछि अत्याधिक रक्तस्राव भएपछि ती किशोरीलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।
छात्रा कसको गर्भवती थिइन् भन्ने विषय गोप्य राखिएको छ। प्रहरीका अनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको थियो कि अन्य कुनै कारणले गर्भपतन भएको हो भन्नेबारे अनुसन्धान जारी छ। घटनाले विद्यालय, परिवार र गाउँमा हलचल मचाएको छ।
स्थानीय स्तरमा सामाजिक, नैतिक र स्वास्थ्य शिक्षाको पहुँच अझ सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको छ। प्रहरीले घटनालाई संवेदनशील मानेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया