ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको बाटो खुलेको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो।
पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारले वातावरणमा क्षति पुर्याउने र लिम्बु समुदायको मौलिक मुन्धुमी संस्कृतिमा असर पार्ने भन्दै स्थानीय र लिम्बु अभियन्ताहरूले विरोध जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। याम बहादुर लिम्बुसहित ८ जनाले २०८१ चैत ७ गते पाथीभरा देवी दर्शन केवलकार प्रा.लि. लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
यसअघि, सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्काल अघि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो। तर, मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि निर्माण कार्य अवरुद्ध नहुने स्पष्ट भएको हो।
मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई, लवन न्यौपाने, पदम बहादुर श्रेष्ठ र बिनोदमणि भट्टराईले बहस गरेका थिए। विपक्षी पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र सतिशकृष्ण खरेलले तर्क प्रस्तुत गरेका थिए।
केबलकार निर्माणविरुद्ध लामो समयदेखि विरोधमा उत्रिएको लिम्बु समुदायले परियोजनाले उनीहरूको धार्मिक स्थल र संस्कृति माथि आक्रमण गर्ने दाबी गर्दै आएको छ।
प्रतिक्रिया