इटहरी : इटहरी १९ मा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालययमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् ।
विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा धम्की दिइएको, दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
आइतबार (आज) यहाँका विद्यार्थीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र होस्टलका वार्डेन सोमप्रसाद पुरीलाई निकाला गर्नुपर्ने मागसहित आन्दोलित बनेका छन् ।
खासगरी दुई दिनअघि होलीको समयमा अध्यक्ष गिरी र वार्डेन पुरीले विद्यार्थीहरूमाथि दुव्र्यवहार गरेको आरोपसमेत लागेको छ ।
कक्षा १२ मा अध्ययनरत पुरन विश्वकर्माले होली खेल्ने क्रममा विद्यार्थीमाथि दुव्र्यवहार भएको बताए । ‘होलीको दिन होस्टल वार्डेन सोमप्रसाद पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले खेदाउनुभयो,’ विश्वकर्माको आरोप छ, ‘होली नमनाउने भए किन विद्यालय छुट्टी भयो । यहाँ होली खेल्ने को हो ? खेल्छस् भने मसँग आइज भनेर थर्काउँदै दुव्र्यवहार भयो ।’
उनका अनुसार होस्टेल वार्डेन पुरीले ‘बाहिरको मान्छे ल्याएर कुटपिट गर्ने’ धम्कीसमेत दिएको उनले बताए । ‘होस्टल वार्डेनले मैले चाहेँ भने बाहिरको मान्छे लगाएर कुटाउन सक्छु भनेर धम्की दिनुभयो,’ विश्वकर्माले भने, ‘अध्यक्षले भने तेरो बाउको स्कुल हो भनेर धम्की दिदैँ निष्कासन गर्ने धम्की दिएपछि मानसिक समस्या भयो ।’
उनले होस्टलभित्रै जाँड बनाउनेगरेको बताए । ‘यहाँ जाँड बनाइदोँरहेछ । यहाँका नराम्रो क्रियाकलापबारे बोल्दा दबाबमा राखिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई धम्की दिइयो, मानसिक समस्या भयो ।’
कक्षा ७ मा अध्ययनरत विद्यार्थी गणपति चौधरीले आफूलाई विद्यालय व्यवस्थापन समितिले दबाब दिएको बताए । आफू सहिद परिवारकै सन्तान भएपनि सहिद स्कुलमै विभेद भएको उनले सुनाए ।
आफ्नी दिदी लक्ष्मीकुमारी चौधरीलाई शुल्क नतिरिकन पढ्न नपाइने भन्दै पढाइबाटसमेत वञ्चित गराइएको उनको भनाइ छ । ‘सहिद स्कुलमा सहिदकै बच्चा पढ्न पाइंदैँन,’ उनले भने, ‘पढ्नका लागि पैसा लाग्छ भनेर भनियो । मलाई पनि जतिसुकै पावर लगा यहाँ राख्दिन भन्दै दबाब दिइयो ।’
विद्यालयमै जाँड बनाइने, सफाइका लागि कर्मचारी राखेपनि विद्यार्थीलाई धम्की दिदैँ सफाइमा खटाइने, शौचालय सफा गर्न लगाउने, शुल्क नतिरेमा कोचिङ कक्षामा सहभागी नगराइने, भ्रमण शुल्कका लागि बजेट आएपनि विद्यार्थीमा शुल्क लिइने लगायतका समस्या रहेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
यसबारे बोलेमा विद्यालयबाटै निष्कासन गर्नेसम्मको धम्की दिदाँ थप दबाबमा परेको उनीहरूको भनाइ छ ।
होस्टल वार्डेन पुरीले भने आफूले विद्यार्थी नधम्क्याएको जिकिर गरे । ‘होली खेल्ने क्रममा हुलदंगा बढी भएपछि होली नखेल भनेको हो,’ उनले भने, ‘मैले कसैलाई धम्क्याएको छैन ।’ होस्टलमा कार्यरत कर्मचारी विमला गिरीले उब्रिएको खानेकुरालाई भण्डारण गरी मोर्चा प्रयोग गरेर सुँगुरलाई दिएको उनले बताए ।
‘यो जाँड भन्दा पनि विद्यार्थीले खाएर उब्रिएको भातलाई जम्मा पारेर मोर्चा हालिएको हो,’ वार्डेन पुरीले भने, ‘लोकल गाउँको मान्यताअनुसार मोर्चा हालेको खानेकुरा दिएमा सुँगुर छिट्टै बढ्ने मान्यता छ । यो कसैले खानको लागि बनाइएको होइन ।’
विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलका अनुसार होस्टलमा दुई सय ५६ जना विद्यार्थी आवासीय छन् । सुरक्षा र संवेदनशीलतासँग जोडिएकाले सामूहिक होली खेल्न नदिदाँ विद्यार्थीको गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताइन् ।
‘खासगरी जाँडको जुन कुरा छ, त्यो चैँ वेस्टेज भएका खाद्यान्नको उच्चतम प्रयोग गर्ने उदेश्य हो,’ फुयाँलले भनिन्, ‘फालिएका सामाग्रीलाई प्रयोग गर्न सुँगुर पालेका हौँ । मादक पदार्थ सेवन गर्नेलाई होस्टलमा छिर्नै दिइदैँन । विद्यालयभित्रै बनाउने त कहाँ हुन्छ र ?’
उनले अब वैशाख महिनाभर विद्यार्थी बिदामा हुने समयमा सुँगुरलाई खानेकुरा दिनका लागि उक्त सामाग्री भण्डारण गरिएको उनको जिकिर छ ।
प्रतिक्रिया