कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ ।
धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए ।
सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए ।
अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो ।
डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिए । सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिए ।
उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले जानकारी दिए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया