विराटनगरका श्यामानन्द हत्या प्रकरण-आरोपी ३ पूर्ववडाध्यक्ष सहित ७ जना दोषी ठहर

शुक्रबार, ०३ चैत्र २०७९
  विराटनगर । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय श्यामानन्द यादवको हत्या प्रकरणमा जोडिएकामध्ये ७ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । दोषी ठहर हुनेमध्ये ३ जना पूर्ववडाध्यक्षहरु छन् । हत्याको आरोप लागेका अभियुक्तविरुद्ध दर्ता भएको भवितव्य ज्यान मुद्दाको फैसला न्यायाधीश दीनबन्धु बरालको इजलासबाट शुक्रबार भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार हत्या घटनाका प्रतिवादी १० जनामध्ये ७ जनालाई जनही २–२ वर्ष कैद सजायको फैसला भएको छ । घटनामा संलग्न भनिएका ३ जना फरार रहेका कारण उनीहरुविरुद्धको मुद्दा मुलतवीमा राखिएको जानकारी उनले दिए । प्रहरीका अनुसार तत्कालीन वडाध्यक्षहरु विराटनगर–१४ का बलदेव यादव, विराटनगर–१८ का सञ्जयकुमार साह र जहदा गाउँपालिका–१ का प्रदीप यादवसमेतको संलग्नतामा श्यामानन्दमाथि २०७६ साल जेठ ३२ गते आक्रमण भएको थियो । उक्त घटनामा ३ जना तत्कालीन वडाध्यक्षसहित दिपेश यादव, भोला भनिने भोलु यादव, विन्देश्वर यादव, वीरेश यादवलगायतको संलग्नता अदालतले पुष्टि गरेको छ । सबै जनालाई अदालतले दोषी ठहर गरेको हो । बुढाथोकीका अनुसार घटनाका आरोपितमध्ये दिनेशकुमार यादव, रविनकुमार यादव र शम्भुप्रसाद यादव फरार रहेका कारण उनीहरुविरुद्धको मुद्दालाई अदालतले मुलतवीमा राखेको छ । घटनामा दोषी ठहर भएकालाई जनही २०–२० हजार रूपैयाँ जरिवानाको फैसलासमेत अदालतले गरेको छ । साथै, मृतकका परिवारलाई प्रत्येकबाट १ लाख ५० हजार रूपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला भएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ । यस्तो थियो घटना श्यामानन्दका छोरा राजेश यादवको विवाहका लागि जहदा गाउँपालिकाकी एक युवतीसँग पारिवारिक हिसाबबाट कुरा अघि बढाइएको थियो । तर, राजेशले ती युवतीसँगको बिहे अस्वीकार गरे । त्यही विषयमा छलफल गर्न वडाध्यक्ष बलदेवको घरमा २०७६ साल जेठ ३२ गते बिहान पञ्चेती बोलाइएको थियो । वडाध्यक्षसहितले पञ्चेतीमार्फत बिहेका लागि दबाब दिन थाले । तर, पनि राजेशले मानेनन् । छलफल चलिरहेका बेला बढेको विवाद आक्रमणमा परिणत भएको थियो । त्यतिबेला बिहेका लागि छोरालाई मनाउन नसकेको भन्दै समानन्दमाथि निर्घात कुटपिट गरियो । छलफलमा उपस्थित भएकाहरुको कुटपिटबाट गम्भीर घाइते भएका उनको असार २६ गते उपचारका क्रममा विराटनगरकै कोसी अस्पतालमा मृत्यु भयो । त्यसपछि मृतक पक्षबाट हत्यामा संलग्न रहेको भन्दै ३ जना तत्कालीन वडाध्यक्षसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो । उक्त घटनासँग सम्बन्धित मुद्दाको फैसला अदालतले साढे ३ वर्षपछि गरेको हो । श्यामानन्दमाथि आक्रमण गरिएको भए पनि हत्या गर्ने मनासाय नदेखिएको र अस्पतालमा उपचारका लागि भर्ना गरेको करिब १ महिनापछि मृत्यु भएको भन्दै अदालतले मुद्दालाई भवितव्य ज्यानमा परिणत गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार