जापानका लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकाले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाई हाल पक्राउ परेका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पासमेत मलाई भेट्न आई हामीसमेत हजुरसँगै सोही कार्यक्रममा जान हिँडेको भनेपछि मलाई शंका लागेर हङकङबाट जापानका लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेसनमा लाइनमा बसिरहेको अवस्थामा कञ्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीलाई समेत सँगै लानू भन्दा मैले म तपार्इंहरूलाई चिन्दिनँ म एक्लै आएको हुँ भन्दा उनीहरूले कसरी चिन्नुहुन्न, हामी तपाईकै कर्मचारी हौं भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचय पत्रसमेत देखाएपछि मैले सोही परिचय पत्र तत्कालै आफ्नो हत्केलामा राखी मोबाइलबाट फोटो खिचेपछि प्रस्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखका रूपमा उल्लेख गरी किर्ते परिचयपत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सहीछाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन्।मेरो मन्त्रालयको मेरो सहीछापसमेत किर्ते गरी परिचयपत्रसमेत बनाएको थाहा पाएपछि यससम्बन्धी सम्पूर्ण सूचना जापानको नारिता विमानस्थलबाटै कोसी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएपमार्फत मेरो सहीछाप किर्ते गरी बनाएको कर्मचारी परिचयपत्रको फोटो, कार्यक्रमको सम्पूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ र म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनू म कार्यक्रममा जान्न भनी फिर्ता आएको हुँ। यसरी मानव तस्कर तथा किर्तेसम्बन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुनेबित्तिकै प्रहरीलाई सूचना गर्ने व्यक्ति मै हुँ। म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन। मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ। मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गबाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचयपत्र किर्ते गरी बनाएको हुँदा म आफैं पीडित हुँ। दोषीमाथि कारबाही गरी मैले न्याय पाऊँ। जनक राई र कञ्चन देवकोटाका नाममा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचयपत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन्। जनक राई र कञ्चन देवकोटा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन्। उनीहरूका नाममा बनेको कर्मचारी परिचय पत्रको डिजिटल कार्डमा मेरो नाम लेखी सहीसमेत गरेको सहीछाप मेरो होइन। मेरो सहीछापसमेत किर्ते गरिएको हो। जापानमा हुने कार्यक्रममा सहभागी हुन म नेपालबाट उड्नुभन्दा केही समय अगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजात हेर्न भ्याएको थिएन। के कसरी, को कसले कञ्चन देवकोटाको नाममा एउटै होटल बुक को कसले गरेका हुन् मलाई थाहा भएन। म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानुभन्दा अगाडि कञ्चन देवकोटासमेतका प्रतिवादीहरू मसँग नै जापानमा जाँदैछन् भन्ने कुराको जानकारी मलाई थिएन। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरूलाई म चिन्दिनँ। उनीहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन्, मलाई थाहा भएन। उनीहरूबाट मैले कुनै पनि रकम लिएको छैन। जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर सन् २०२४ को सात दिनको कार्यक्रममा सहभागी गराउने आयोजकहरू को हुन्, मलाई थाहा भएन। आयोजकसँग मेरो सम्पर्क र चिनजानसमेत छैन। योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरा पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु। महेश पाण्डेलाई मैले मिति २०८१/०७/११ गते मात्र भेटेको हुँ। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा छैन। मलाई जापानमा कार्यक्रम हुँदैछ आयोजकले खर्च बेहोर्छन् जाने हो भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि उनले मेरो राहदानीसमेत लगेर को–कसलाई भनेर भिसा लगाएका हुन्, मलाई थाहा भएन। म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानी समेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै बयानका क्रममा खुलाई लेखाइसकेको छु। मैले कञ्चन देवकोटा, दावा शेर्पा, जनक राईलाई चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा भएन। म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा उनीहरू मलाई नमस्कार भन्दै आए। मलाई कसरी चिन्नुभयो भनि सोध्दा उनीहरूले हामीलाई कसैले फोटो पठाएको थियो सोही फोटोमार्फत चिनेका हौं भनेकाले उनीहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो। उनीहरूसँग मेरो सोभन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन। उनीहरूले साथमा बोकेको कर्मचारी परिचय पत्र नक्कली भन्ने कुरा मैले थाहा पाउनेबित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउनासाथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्न भनी नारिता विमानस्थलबाटै फिर्ता भई किर्ते गरी परिचयपत्र बनाई तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराई अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया