धरानका सडकमा सिद्रा बेचेर दङ्ग

शनिबार, १५ मंसिर २०८१
धरान : धरान उपमहानगरपालिका–३ पुरानो बजारमा २७ वर्षदेखि सिद्रा व्यापार गर्दै आएकी छन्, देवकी खड्गी । धरानकै सबैभन्दा पुरानो बजार भएकोेले यस ठाउँको नाम नै पुरानो बजार हो । सोही बजारमा सिद्रा बेचिरहेको अवस्थामा भेटिएकी उनले पुर्खाको पेशालाई नै निरन्तरता दिएको बताइन् । ‘यस ठाउँमा हाम्रो नेवार समुदायको बाजेबराजुहरूले व्यापार गर्दै आउनुभएकाले सटर भाडा नलिई हामीले पनि पुर्खाकै जस्तो सडकमै व्यापार गर्दै आएका छौँ,’ उनले भनिन्, ‘हाम्रो लागि सिद्रा बेच्नु भनेको पुर्खाको निसानी पनि हो ।’ सोही ठाउँमा सिद्रा बेच्दै आएकी मनका शाहीले पनि दुई दशकदेखि सिद्रा व्यापार गर्दै आएकी छन् । उनी सडकमै हरेक दिन सिद्रा बेचेर आफ्नो दैनिकी गुजारा गर्दै आएकी छन् । ‘पहिला–पहिला त माछाहरू खोला, नाला नदीबाटै ल्याइन्थ्यो । पछिल्लो समयमा पोखरीमा पालेका माछाबाटै मात्रै सिद्रा बनाइन्छ,’ उनले भनिन् । दैनिक तीन हजारदेखि १० हजारसम्म सिद्रा बिक्री गर्दै आएकोले घर खर्च चलाउन सहज भएको उनी बताउँछिन् । ‘यो काम गरेको दुई दशक बढी भइसक्यो । पेशा छाडेर अन्य जान परेको छैन । दुःख, सुख राम्रोसँग चलेको नै छ,’ उनी भन्छिन् । सोही ठाउँमा प्रकाश शाहीले पनि सिद्रा बिक्रीबाटै जीवीकोपार्जन गर्दै आएका छन् । उनले दैनिक रूपमा तीन केजीदेखि पाँच केजीसम्म सिद्रा बिक्री गर्दै आएको बताए ।   नेपालको माछा भने सिजनल हुने भएकोले साउन महिनादेखि कात्तिक महिनासम्म बढी बिक्री हुने उनी बताउँछन् । खासगरी यहाँ छिमेकी देश भारतको नक्सलवादी, गोरखपुरहरूबाट माछा ल्याइने उनको भनाइ छ । उनका अनुसार अब माछा खोजेर मार्नु भन्दा पनि पोखरीमा पालेर बेच्ने गर्ने अधिकांश भएको उनी बताउँछन् । ‘गाउँघरबाट आएको माछा मात्रै खोलानालाको हुन्छ, नभए पोखरीमै पालेका माछा बेचिन्छ,’ उनले भने । सिद्रा माछा सिजनअनुसार पाइने भएकाले १२ किसिमदेखि १८ किसिमसम्मको सिद्रा माछा बेच्ने गरेका शाहीले बताउँछन् । जसमा सबैभन्दा सस्तो ६ सयदेखि सिद्रा माछा आउँछ भने सबै भन्दा महंगो १२ सय रुपैयाँको झिगें माछा हुन्छ । झिगें माछा कम पाउने भएकोले अलि महङ्गो भएको उनी बताउँछन् । उनका अनुसार यहाँ केचकी, माडा, मैथली, पोथी, लोली, बाम्ला लगायतका माछाका सिद्रा बिक्री हुने गरेको छ । ‘पोथिया भने बाह्रमासै हुन्छ भने अन्य माछाहरू भने सिजनल हुन्छ,’ उनले भने । यहाँबाट पूर्वी पहाडी जिल्लाहरूमा पुर्खाहरूले सामान बेच्ने गरेकाले अहिले पनि सबै भन्दा बढी पहाडी जिल्लाका मानिसहरूले लैजाने गरेको व्यापारी उषा शाहीले बताउँछिन् । स्वदेशदेखि विदेशका हङकङ, बेलायतलगायतका देशसम्म सिद्रा बिक्री हुने उनको भनाइ छ । उनी दैनिक चार हजारदेखि १० हजारसम्म बिक्री गर्दै आएकी छन् । यो ठाउँमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सिद्रा बिक्री गर्न व्यापारीहरू बस्ने गरेका छन् ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार