इटहरी । सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औद्योगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ। मेलाको सञ्चालन गर्न सम्झौत भएको छ ।
विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने र औद्योगिक तथा कृषि ब्यापारलाई प्रबर्द्धधन गर्ने उद्देश्यका साथ २०८० बैशाख ६, ७, ८ र ९ गते बर्जु ५ शान्तिवनमा मेला हुने भएको हो ।
साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको सहकार्यमा मेला सञ्चालन हुने आयोजक समितिका अध्यक्ष टिकेन्द्र श्रेष्ठले बताए ।
नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राखिने जनाइएको छ ।
मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए।
उद्योगीहरुका १०० भन्दा बढी स्टल राखिने साथै ७७ वटा जिल्लाबाट विभिन्न उत्पादित बस्तु राखिने भएको छ ।
विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक(एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
मेलामा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान छ ।
साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
विज्ञान केन्द्र शान्ति वनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले टिकेन्द्र श्रेष्ठ, सुमन कटेललाई औद्यागिक तथा कृषि व्यापार मेला आयोजना गर्ने जिम्मेवारी दिइएको बताए ।
मेला आयोजक समितिमा अध्यक्ष टिकेन्द्र श्रेष्ठ, उपाध्याक्ष सुमन कटेल छन् भने सदस्यमा सुभास शर्मा, बिनित लालवानी छन् । प्रचार प्रसार समितिमा भोजराज घिमिरे तथा सहयोगीमा नरायण चौधरी छन् ।
प्रतिक्रिया