विराटनगर । कोशी प्रदेशभित्र करिब अढाई अर्ब लगानी गरेर चारवटा पदमार्ग निर्माण गरिने भएको छ ।
पर्यटनको नयाँ सम्भावना खोजी गर्दै स्वीस सरकार विकास सहयोग परियोजना अन्तर्गत २ अर्ब ४५ करोड ६१ लाख खर्च गरेर पदमार्ग निर्माण गर्न लागिएको हो ।
२०८५ साल साउनसम्ममा सम्पन्न गर्नेगरी पदमार्गमा आधारित ‘पर्यटन विकास परियोजना’ सञ्चालनका लागि प्रदेश सरकार र स्वीस राजदूतावासबीच आइतबार सम्झौता भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
परियोजनाअन्तर्गत चियाबारी (इलाम–फिक्कल–श्रीअन्तु), फाल्गुनन्द (फिदिम– छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम, लालीगुराँस (लुम्लिङटार–खाँदबारी–नुम–गुफाफोखरी–वसन्तपुर–जलजले–तीनजुरे–मिल्के) र मुन्धुम (तावाभन्ज्याङ–टेम्केडाँडा–चखेवा–डालसिंगे–धोद्रे–जलजले–हाँसपोखरी–साल्पापोखरी–मयुङडाँडा–सिलिचुङचुली) पदमार्ग निर्माण हुने प्रदेशको पर्यटन, वन तथा तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विभिन्न जिल्लाका २९ वटा पालिका छुने ४ वटा पदमार्ग ४ हजार किलोमिटरको हुने छ । परियोजनाका लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख, संघीय सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख लगानी गर्नेछन् ।
परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिने बताइएको छ । पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने बताइएको छ । १ हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइने मन्त्रालयले जनाएको छ ।
पदमार्गमा होमस्टे, लज र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य राखिएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरेर ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । पदमार्गहरुमा पर्यटनसँग सम्बन्धित २ हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
दुईपक्षीय सम्झौताका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा विकास र समृद्धिको मुख्य आधार नै पर्यटन भएको बताए । पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने र ४ वटा पदमार्ग पर्यटन क्षेत्रमा ‘गेम चेन्जर’ परियोजना बन्ने उनले बताए । ‘प्रदेशको सार्मथ्य , पहिचान र विकास नै पर्यटन हो,’ उनी भन्छन्, ‘विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने छ ।’
२०८२ साललाई पर्यटन वर्ष घोषणा गरिएको बताउँदै कार्कीले पर्यटन वर्ष मनाउन पदमार्ग परियोजना महत्वपूर्ण हुने बताए । नेपालमा छिमेकी देशका १ प्रतिशत पर्यटकलाई आकर्षित गर्न सके १० वर्षमा धेरै परिवर्तन आउने उनको भनाइ छ । नकारात्मक विरोधलाई रोकेर पर्यटन क्षेत्रलाई धेरै माथि लैजान सकिने कार्कीले बताए ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल पदमार्ग परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।
कार्यक्रममा स्वीस राजदूत डा। डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरुको खोजी हुने बताइन् ।
उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको उल्लेख गरिन् । स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया