प्रदेशको नाम फेरिँदैनः मुख्यमन्त्री कार्की

आइतबार, ०५ चैत्र २०७९
ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । उनले नामका विषयमा अब छलफलसमेत नहुने बताए । प्रदेशको कोशी नामकरणले पहिचान नसमेटेको भन्दै पहिचानवादीहरुले आन्दोलन गरिरहेका बेला आइतबार ओखलढुंगा आइपुगेका मुख्यमन्त्री कार्कीले नामबारे छलफलसमेत नहुने बताएका हुन् । ओखलढुंगाको रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी नाम सर्वस्वीकार्य भएकाले यो परिवर्तन नहुने दाबी गरे । कोसी सबैको सभ्यता र पहिचान भएको दाबी गर्दै उनले मानव जीवनसँग पनि जोडिएको नाम सबैले स्वीकार गरेको बताए । कोशी नाम ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको भन्दै मुख्यमन्त्री कार्कीले हिजो नाम राखिएन भन्नेहरू नाम मन परेन भनेर आन्दोलन गर्नु उचित नहुने बताए । उनले प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको दाबी पनि गरे । प्रदेशको नामकरणमा असन्तुष्ट गरेका पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार दिनभर प्रादेशिक राजधानी विराटनगरमा उनीहरुले प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार