काठमाडौँ : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ ।
यसअघि अदालतले दिएको ४ दिनको म्याद सकिएपछि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गर्न लागिएको हो ।
कात्तिक २ गते काठमाडौँस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता लामिछानेमाथि विभिन्न जिल्लाका सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि बयानका लागि पुर्याइएका छन्।
रुपन्देही, चितवन, काठमाडौँपछि उनलाई पर्सा लगिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पुर्याइएका लामिछानेको मङ्गलवार बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको थियो । सरकारी वकिलको रोहवरमा दिनभर बयान लिइएको थियो ।
वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाई मार्गबाट लगिएको थियो ।
लामिछानेलाई आज सिमराबाट पोखरा लैजाने तयारी प्रहरीको छ । सिमराबाट हवाई उडानमार्फत लामिछानेलाई पोखरा लैजान लागिएको हो। रवि अहिले सिमरा विमानस्थलमा रहेका छन् ।
उनलाई पोखरा पुर्याउने तयारी भएपछि प्रदर्शनको तयारी रास्वपाको छ । पोखराको पृथ्वी चोकमा प्रदर्शनका लागि रास्वपाका नेताहरूले आह्वान गरेका छन् ।
प्रतिक्रिया