इलाम गोल्डकपको उपाधि न्यूरोड क्लबले चुम्यो

शनिबार, २९ मंसिर २०८१
इलाम : इलाम गोल्डकपको उपाधि न्यूरोड टिम (एनआरटी) काठमाण्डौँले चुमेको छ । आज (शनिबार)भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौँलाई शुन्यकाविरूद्ध ३ गोल गर्दै उपाधि चुमेको हो । इलाम गोल्डकपको पहिलो संस्करणको विजेतासमेत रहेको न्यूरोडका लागि खेलको २४ औं मिनेटमा नेमारले १ गोल गरे । खेलको ५२ औँ मिनेटमा अन्जान विष्टले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै, ६४ औं मिनेटमा पुनः अन्जान विष्टले हेडमार्फत अर्को गोल गर्दै टिमको जित निश्चित पारे । खेलको म्यान अफ दि म्याच न्यूरोडका शिशिर लेखी घोषित भए । प्रतियोगिताको विजेता टिमले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको चर्च ब्वाइजले नगद पाँच लाखसहित ट्रफीमा चित्त बुझायो । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले पुरस्कार प्रदान गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र म्यान अफ द टुर्नामेन्ट न्यूरोडका अन्जान विष्ट घोषित भए । उदयीमान खेलाडी रेड हर्ष इलामका अर्जुन गुरुङ्ग भए । प्रतियोगिताको गोलरक्षक विशाल सुनार, उत्कृष्ट डिफेन्डर न्यूरोडका आशिष गुरुङ्ग, उत्कृष्ट प्रशिक्षक न्यूरोडकै जीवन सिन्कम्यान घोषित भए । उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की भए । मंसिर २२ बाट सुरू भएको प्रतियोगितामा आठ वटा टिम सहभागी थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार