काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै अनुदानलाई यथावत राख्ने निर्णय गरेको हो ।
यसअघि कृषि मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारको निर्णयसँगै अब रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।
प्रतिक्रिया