देशभर दुई सय ८० बढी सिनेमा हल बन्द

विहीबार, ०४ पुस २०८१
काठमाडौँ । संसारभर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् या बलिउड अथवा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो । सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन, संसारभरका लाखौंले रोजगारी गुमाउन पुगे । सयौं सिनेमा घरहरु कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो रहन सकेन । तर पछिल्लो तीन महिनादेखि हलहरुको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । अध्यक्ष महर्जनले नेपाली सिनेमाहरुले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताएका हुन् । उनले भने, ‘अहिले आएर तीन महिनादेखि नेपालको सिनेमा हलहरु राम्रो लयतर्फ फर्किएका छन् । धेरै वर्षदेखि हलहरुको अवस्था राम्रो थिएन । लगातार तीन, चार महिनादेखि सिनेमाहरुको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरूको अवस्था राम्रो छ ।’ यसैगरी अध्यक्ष महर्जनले लगभग पहिलेको तथ्यांकअनुसार ४ सय ५० हलहरू सञ्चानमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरू सञ्चालनमा रहेको बताए । उनले २८० वटा हलहरू बन्द अवस्थामा रहेको बताए । उनले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउँदै अहिले जम्मा एकवटा मात्र सञ्चालनमा रहेको बताए । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताए । साथै बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरू बन्द छन् । यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरू बन्द छन् । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरू बन्द रहेको अध्यक्ष महर्जनले बताए । तर सरकारले थोरै मात्र संख्या बढाउन सहजीकरण गरेमा फिल्म क्षेत्र अगाडि बढ्न सक्छ । ‘‘अब लगभग लगभग हामीसँग पहिलाको डाटा अनुसार हाराहारीमा साँढे चार सयको हलहरुको संख्या थियो । अहिले आएर १६० देखि ६५ वटा हलहरु मात्र सञ्चालनमा छन् । लगभग ८१ वटा हलहरु बन्द भएको अवस्था छ ।’ उनले भने, ‘बन्द हुनुको विविध कारणमध्ये दरवार हत्याकाण्डपछिको विषम परस्थिति, त्यसपछि माओवादी द्वन्द्व, त्यसपछि कोरोना महामारीका कारण सिनेमा हलहरु धेरै बन्द हुन पुगे । पहिला सुदूरपश्चिममा २१ वटा हल रहेका थिए । अहिले जम्मा एकवटा मात्र छ । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल छ । बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९ , मधेस प्रदेशमा पनि ४९ वटा हलहरु बन्द भएको अवस्था छ । यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरू बन्द रहेको अवस्था छ । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरू बन्द रहेको अवस्था छ ।’ काठमाडौँकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गंगा हल, गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् । देशमा हलको सङ्ख्या घट्दो छ । केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए । केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ । नयाँ प्रविधिको विकासका कारण परम्परागत हलहरु प्रभावित भएका छन् भने मल्टिप्लेक्सहरुले राम्रो स्थान जमाएका छन् । बन्द हुनुको प्रत्यक्ष कारण जेसुकै भए पनि राज्यको नीति मुख्य कारक रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । ‘हल बन्द हुनुमा राज्यको अव्यवहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नुलगायतका कारण छन्’, महर्जनले भने, ‘एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि चार करोड रुपैयाँसम्म लगानी लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन।’ हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए । ‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याजलगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, महर्जनले भने, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन् ।’ केही महिना अगाडि काठमाडौँस्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ । यसैगरी सिनेमा हलहरु बन्द हुनुको अर्को मुख्य कारण नेपाल सरकारले लगाएको कर नै बढी भएको बताए । उनले कर बढी भएका कारणले नै धेरैजसो सिनेमा हलहरु बन्द भएको बताए । उनले डिजिटल प्लेटफर्महरुको परिवर्तनले पनि लगानी गर्न नसकिएको अवस्थामा पनि सिनेमा हलहरु बन्द भएको बताए । उनले विगतमा सिंगल थिएटरहरुमा ऐनालगबाट सिनेमा चलाउथ्यौं अहिले आएर डिजिटलको युग आएर अबग्रेट हुन नसकेका कारण पनि सिनेमा हलहरु बन्द हुनुपरेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार