इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले आफूमा घमण्ड पस्न नहुने आग्रह गरेका छन् । इटहरीमा शनिबार नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मानिसमा घमण्ड पसे मतिभ्रष्ट हुने बताए ।
`आफूमा घमण्ड पस्न नदिनुहोस् घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ,´ प्रधानमन्त्री ओलीले भने, `मानिसमा ज्ञान पनि छ, बुद्वि पनि छ । तर मति भएन भने मतिभ्रष्ट हुन्छ । त्यसैले मानिसमा मति हुनुपर्छ।´
जेसीजले मर्यादित र शिष्टता सिकाउने गरेको भन्दै प्रशंसा गरे ।
उनले शनिबार नै ध्यान दिवस परेको स्मरण गर्दै मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक रहेकोसमेत बताए ।
`मानिस शारीरिक सुगठनका लागि जिम जान्छ । तर, मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक छ,´ उनले भने, `जेसीजले युवा उमेरमा सक्षम बनाउन, उद्यमशीलताको विकास गर्न र रोजगारी बनाउन अभिप्रेरित गर्दछ । म प्रशंसा गर्न चाहन्छु । जेसीजले राम्रा कामको प्रकाश छरिरहेको छ ।´
उनले नेपालले समृद्वि हासिल गरिरहेकोसमेत बताए । एक फरक प्रसङ्गमा उनले पछिल्लो समय वातावरण क्षेत्रमा सजग हुनुपर्ने बताए ।
`सबै कुरा चाहिने मानव जातिका लागि हो । हामीसँग हिमाल छ, हिमाल जोगाएन भने मौसम र वातावरण रहँदैन´ उनले भने, `हिमालयका समस्याबारे बहसमा आउनुपर्ने आवश्यक छ । धर्तीकै वातावरण रहेन भने हाम्रो भविष्यप्रति सजगता हुनुपर्दछ ।´
ओलीले वातवावरणप्रति सजग हुनुपर्ने र समस्याको न्यूनीकरण गर्न अझै बहस आवश्यक रहेको जनाए ।
प्रतिक्रिया