कोशीका भौतिक मन्त्रीको ‘हनिमुन पिरियड’ : अनुगमनदेखि पुल स्थानान्तरणको निर्णयसम्म

आइतबार, ०७ पुस २०८१
इटहरी । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले अनुगमनदेखि पुल स्थानान्तरणसम्म प्रगति भएको भन्दै आफ्नो १०० दिने उपलब्धि विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री राईले आफ्ना १०० दिने कार्य प्रगति सार्वजनिक गरेका हुन् । ‘हनिमुन पिरियड’का रूपमा समेत लिइने एक सय दिनमा मन्त्री राईले आफू मन्त्री भएपछि नदी तथा खोलाहरूमा रहेका झोलुङ्गे पुलहरू नजिक पक्की पुल निर्माण भई प्रयोग विहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको, विपद् बाट भएको क्षतिको विवरण सङ्कलन गरिएको, कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि निजी क्षेत्रलाई दिने गरी लगानी सम्मेलनको आयोजना सोकेसमा राख्ने लगायतका कार्यलाई जोड दिएका छन् । यसै गरी रुग्ण आयोजनाको अनुगमनका साथ मूल्याङ्कन गरिएको, प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रक्रिया सुरु गरिएको, सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको लगायतका निर्णय भएकाको प्रगति विवरणमा उल्लेख गरिएको छ । मन्त्री पदमा नियुक्त भएपछि मन्त्रालयको यथार्थ अवस्थाको सार्वजनिक गरेका मन्त्री राईले १०० दिने उपलब्धि श्रोत र साधनका हिसाबले उपलब्धिपूर्ण रहेको दाबी गरे । यसबिचमा सुनसरीको महेन्द्रनगरको बाङ्गेबाट हाल्दिया काला बन्जर तीन कुने भलुवा चौँरी हुँदै धरान जाने सडक, सुनसरी र धरान १५ नीरज बस्ती हुँदै हाल्दिया पेलपुर ढाडे कन्या पोखरी सडक, धरान उपमहानगरपालिका १, ४, ५, सुनसरी सडकको स्थलगत अनुगमन र निर्णय भई हाल दुवै सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अगाडी बढिरहेको मन्त्री राईले उल्लेख गरेका छन् । प्रदेश सरकारको सबै भन्दा लामो सडक पुलका रूपमा खोटाङको जन्तेढुंगा १ देबिस्थानमा बुवाखोला पक्की पुलको प्रारम्भिक चरणको ढलान कार्य सम्पन्न भएको, खोटाङको रसुवा घाट देखि सिम्पानी हुँदै पान्धारे कालोपत्रे सडक निर्माण कार्य शुभारम्भ गरिएको मन्त्री राईले बताएका छन् । सार्वजनिक विवरणमा नीतिगत सुधार तर्फ प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को प्रारम्भिक संशोधन मस्यौदा र प्रदेश भवन ऐन २०७६ को तीन तले विवरण तयार गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रायका लागि २०८१ मङ्सिर १६ गते पेस भएको उल्लेख गरेका छन् । विपदबाट कोशीमा चार अर्ब त्रिसट्ठी करोड बढीको क्षती मन्त्री राईले यही असोज १० देखि १२ गते सम्म निरन्तर परेको वर्षाको कारण कोशी प्रदेशको भौतिक विकासमा करिब चार अर्ब त्रिसट्ठी करोड पचास लाख बराबरको क्षति भएको उल्लेख गरेका छन् । क्षति भएका सडक, सडक पुल ,र झोलुङ्गे पुलमा पुगेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएको उनले बताए । वर्षाले पु¥याएको क्षति झापाको बिरिंङ खोला पक्की पुल, पाँचथरको हेवा खोला र फेमे खोला पक्की पुल, खोटाङ र उदयपुर जोड्ने दुधकोशी फोक्सिंङटार पक्की पुल, धाप्लांगघाट, बन्सिलाघाट लगायतका स्थानमा स्थलगत अनुगमन गरेको मन्त्री राईले उल्लेख गरेका छन् ।

यो पनि - यस्तो छ कोशी प्रदेशका भौतिक मन्त्रीको सय दिने उपलब्धि

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार