इटहरी : नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (पुस ८) निर्वाचन हुँदैछ । इटहरीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा निर्वाचन हुन लागेको हो । अध्यक्षका लागि रजनी थापा र जीवन कार्की मैदानमा छन् ।
नेपाल जेसीजको सन् २०२५ का लागि नेतृत्व चयन गर्ने तयारी अनुरूप आज ककस कार्यक्रम पनि समापन भइरहेको छ ।
यसैबीच अध्यक्षकी प्रत्याशी रजनी थापाले आफूले अघिल्लो वर्ष जेसीजका सदस्यको मन जितेको र यस वर्ष मत र मन दुवै जित्ने बताइन् ।
अघिल्लो वर्ष भएको निर्वाचनमा अध्यक्षकी प्रत्याशी रहेकी उनले झिनो मतान्तरले रविन पोखरेलसँग पराजित भएकी थिइन् । उनले जेसीजका उम्मेदवारले कहिल्यै पनि नहार्ने, कि जित्ने, कि सिक्ने बताइन् ।
‘जेसीजमा हारिदैँन । कि, जितिन्छ, सिकिन्छ,’ उनले भनिन्, ‘मैले जेसीजलाई स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्नेछु ।’
२०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोशन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्ष भइन् ।
२०१९ मा आफ्नै पहलमा कागेश्वरी मनोहरा नगरपालिकामा जेसीआई मनोहरा जेसीजको संस्थापक अध्यक्ष बनेकी उनले मनोहरा जेसीजको संस्थापक अध्यक्ष बनिरहँदा नयाँ शाखालाई हुर्काउन ज्यादै चुनौतिपूर्ण रहेको बताउँछिन् ।
‘म शाखा अध्यक्ष बनिरहँदा आफैँले स्थापना गरेको सामाजिक संस्था रजनी फाउण्डेशनबाट देखि, असहाय, गरिब र अनाथहरूलाई अभिभावकत्व प्रदान गरिरहेकी छु,’ उनी भन्छिन्, ‘सन् २०१९ मा नेपालभरमै सबैभन्दा बढी तालिम आयोजना गर्ने शाखा अध्यक्षको पुरस्कारबाट सम्मानित समेत भएकी छु ।’
उनी सन् २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, सन् २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेी छन् ।
उनी जेसीजमा मात्रै होइन, राजनीतिमा पनि अग्रपंक्तिमा छिन् ।
विद्यार्थी जीवनदेखी नै राजनीतिमा सक्रिय भएकी उनी नेपाल विद्यार्थी संघ सिटिईभिटी केन्द्रिय उपाध्यक्ष, नेपाली काँग्रेस टोखा नगर सदस्य, नगर सचिव हुँदै टोखा नगर सभापतिसमेत भइसकेकी छन् । नेपाली काँग्रेस प्रशिक्षण विभाग प्रशिक्षक समेतको जिम्मेवारी सम्हालिसकेकी उनी अहिले काठमाडौँ क्षेत्र नं. ५ को कांग्रेसको सचिव रहेकी छन् ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा मेयरकी उम्मेदवार रहेकी थापा झिनो मतान्तरले मात्रै पराजित भएकी थिइन् । मेयर पदमा झिनो मतले मात्रै पराजित भएकी उनी डगमगाइनन् । बरू अथक मिहिनेत, परिश्रम र निरन्तरताले उनी जेसीज अभियानमा राष्ट्रिय नेतृत्व लिन अग्रसर बनेकी छन् ।
शैक्षिक तथा व्यावसायिक कामका लागि उनी बेलायत, जापान, कोरिया, फिलिपिन्स, सिंगापुर, फान्स, दुबई, मलेसिया, थाइल्याण्ड फिनल्याण्ड, अजरबैजन, हङ्कङ, भारत, श्रीलंका, भुटान, बंगलादेशलगायत ३२ वटा देशको भ्रमण गरिसकेकी छन् ।
बुबा तेजबहादुर थापा र आमा अनु थापाको कोखबाट जन्मिएकी उनी सिंगेटी हाइड्रोपावरकी बोर्ड अफ डिरेक्टरसमेत हुन् ।
पि.सी.एल नर्सिङ, स्नातक मानविकी, एल.एल बी, राजनीतिक शास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातकोत्तर, गृह विज्ञान, बाल विकास तथा लैंगिक समावेशीकरणमा स्नातकोत्तरसम्म अध्ययन गरेकी रजनीले असफलतालाई सफलतामा बदल्न पुनः चुनावी मैदानमा होमिएको सुनाइन् ।
‘मानवताको सेवालाई अक्षुण राख्दै आफ्नो सिंगो जीवन जेसीजमा सकारात्मक परिवर्तनको लागि समर्पित गर्ने उदेश्यले म चुनावी अभियानमा होमिएकी हुँ,’ उनले भनिन् ।
प्रतिक्रिया