मोरङमा अचेत भेटिएकी युवतीमाथि बलात्कारको आशंकामा शंकास्पद तीनजना पक्राउ

मंगलबार, ०९ पुस २०८१
मोरङ : मोरङमा अचेत भेटिएकी युवतीमाथि बलात्कारको आशंका गरिएको छ । घटनामा शंकास्पद तीनजना पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे १२ बजेतिर हात, खुट्टा बाँधिएको अवस्थामा २३ वर्षीया युवती अचेत भेटिएपछि बलात्कार भएको हुनसक्ने आशंका गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार जिल्लाको कटहरी २ स्थितमा युवती अचेत अवस्थामा भेटिएकी थिइन् । घटनामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये रमजानले ती युवतीमाथि बलात्कार गरेको र अन्य दुईजनाले भने हात, खुट्टा बाँध्न सघाएको खुलेको छ । ‘घरदेखि केही पर गएको अवस्थामा अचानक मुख थुनेर सिटी सफारीमा राखेर बाँस घारीमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘घटनामा संलग्नमध्ये एकजनाले जबरजस्ती करणी गरेको र दुईजनाले हात, खुट्टा बाँध्न सघाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनीहरूलाई मोरङका विभिन्न स्थानबाट प्रहरीले मंगलबार साँझतिर पक्राउ गरेको हो । पीडित युवतीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण लगाएतको कार्य भइसकेको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । यो पनि – अपराधको पराकाष्ठा : मोरङमा हात, खुट्टा बाँधेर युवतीमाथि बलात्कार !

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार