काठमाडौं । बिहीबार राती निधन भएका भारत सरकारका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतले सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार उनको निधनमा आजका सबै सरकारी कार्यक्रम रद्द गरिएका छन्। उनको अन्तिम संस्कार भने शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ।
अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन्। मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो।
पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।
सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्यो।
प्रतिक्रिया