आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने

शनिबार, १३ पुस २०८१
कैलाली : कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबीच शिलान्यास गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । उनले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।” वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रहसमेत गरे । “सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरू लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,” उनले भने । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए । उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।” उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने दाबी गरे । लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं. ७ राजकाँडासम्म पुग्ने ३(१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार