इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण किन्ने भएको छ ।
कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएपछि नगरपालिकाले परीक्षण गर्ने भएको हो ।
नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने ‘ब्रेथलाइजर’ उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ ।
मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको नगरप्रमुख विमला राईको भनाइ छ ।
कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेको गुनासो आउने गरेको उनले बताइन् ।
मापसे परीक्षण गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ ।
खासगरी शिक्षकलाई लक्षित गरेर मापसे परीक्षण गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो । दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे, नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन ।
प्रतिक्रिया