पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

आइतबार, २१ पुस २०८१
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेशनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग पु¥याउन सरकारलाई सुझाव दिए । उनले भने, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।” पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान पु¥याउने उल्लेख गर्दै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको बताए । उनले भने, “राज्यको भूमिका नियन्त्रित छैन, निजी क्षेत्र भूमिअनुसार लगानी गर्दै आफैँ प्रतिस्पर्धामा आउन सक्छ, ज्ञान आर्जन गर्ने मेलामा सुविधा र सहुलियत उपलब्ध गराए सरकार आफैँ बलियो र अर्थतन्त्र सुदृढ हुन्छ ।” प्रदेशसभा सदस्य रघुनाथ महर्जनले पुस्तक प्रदर्शनीले व्यवसायी, लगानीकर्ता, प्रकाशक र पाठक वर्गका बीचको अन्तरक्रियाबाट भविष्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गरेको बताए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक पढेको जस्तो स्वाद र आनन्द मोबाइलबाट नपाइने भएकाले किताब पढ्ने नेपाली संस्कार र संस्कृतिलाई नभुल्न सुझाव दिए । अर्का हास्यकलाकार हरिवंश आचार्यले पुस्तक मिल्ने शिरानको साथी भएकाले पुस्तक पढ्दा घरपरिवारका कुनै सदस्यबाट विरोध र आलोचना बेहोर्नु नपर्ने धारणा राखे । उनले भने, “पुस्तक लेखन पनि इज्जतको पेसा हो, नेपालमा पछिल्लो समय पठन संस्कृतिमा शिथिलता आएको छ, हाम्रो पुस्तक पढ्ने पुरानो संस्कार र संस्कृतिलाई पुनर्जागरण गर्न आवश्यक छ ।” आयोजक संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष शिवसागर शर्माले शिक्षा चेतनाको संवाहक भएकाले सूचना र ज्ञान प्राप्तिका लागि सहयोग पुगोस् भन्ने हेतुले प्रदर्शनी गर्दै आएको बताए । महासङ्घका सल्लाहकार रामचन्द्र तिमोती र वरिष्ठ उपाध्यक्ष मात्रिका सिवाकोटीले विश्वका अरू देशमा सरकार आफैँले गर्दै आए पनि नेपालमा भने निजी क्षेत्रबाट भएको पुस्तक प्रदर्शनीमा समेत सरकारले आवश्यक सहयोग नगरेको दुखेसो पोखे । उनीहरूले पुस्तक प्रदर्शनी तथा मेलालाई आफूहरूले चाडपर्वका रूपमा लिने गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार