झापा : झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका उनलाई २४ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो ।
एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय, झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय, झापाले अदालतमा मुलुकी अपराध संहिताअन्तरगतको जबरजस्ती करणीसम्बन्धी कसुर र बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । पक्राउ परेदेखि शिवाकोटी अस्पतालमा छन् ।
बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए ।
शिवाकोटी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
शिवाकोटी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालनपोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने सर्तमा घरमा राखेका थिए । बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन् । हाल उनी ल्याब टेक्निसियन पढिरहेकी थिइन्।
आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक-पटक बलात्कार गरेको आरोप पीडितको छ । श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ ।
शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोहीअनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन् ।
प्रतिक्रिया