हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

मंगलबार, २३ पुस २०८१
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । ‘हाम्रो नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण किसानले गोरु पाल्न छाडिसकेका छन्’, उनले भने, ‘खेतबारी जोत्ने गोरु भएका कारण धेरै किसानले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैत्री कृषि प्रणाली लागू गर्न विभिन्न १२ वटा कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको हो ।’ नगर प्रवक्ता गिरीका अनुसार वडा नं १ बाहुनीडाँडामा एक, वडा नं ४ बडहरेमा एक, वडा नं ५ दुर्छिममा एक, वडा नं ७ महादेवस्थानमा एक, वडा नं ८ धितुङमा एक, वडा नं ९ सल्लेमा एक तथा वडा नं ११ राजापानीमा छवटा हातेट्रयाक्टर वितरण गरिएको छ । गोरु अभावमा खनजोत गर्न नपाएर समस्या भोग्दै आएका किसान लागत साझेदारीमै भए पनि ६० प्रतिशत अनुदान (रु ४१ हजार चार सय) मा ट्रयाक्टर पाएपछि हर्षित भएका छन् । कृषि क्षेत्रमा लगानी बढाएको उक्त नगरपालिकाले रैथाने बाली (गहत, जुनेलो र बदाम) मा अनुदानसमेत उपलब्ध गराएको छ । धानखेती कम तथा मकै र कोदोमात्र उत्पादन हुने उक्त नगरपालिकामा गहत, जुनेलो र बदाम उत्पादन गर्ने किसानलाई उनीहरूले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान दिने गरिएको हो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार