सोलुखुम्बु : आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ ।
भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र ६ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण क्षति भएको छ भने सोही वडाको थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको पोष्ट भवनमा सामान्य क्षति भएको छ ।
यस्तै थुलुङ दूधकोशी गाउँपालिका–७ देउसा लुरूवा बस्ने वर्ष ५० को हर्कबहादुर खत्रीको घरमा आंशिक क्षति पुगेको छ ।
माप्य दूधकोशी–१ जुभिङका पञ्चबहादुर कामी र निङ्गा नुरू शेर्पाको ढुङ्गा माटोले बनेको घरमा पनि सामान्य क्षति पुगेको घिमिरेले बताए ।
यस्तै, सोताङ गाउँपालिका–३ नार्केलका चेतन बस्नेत र सोही ठाउँका जनक बस्नेतको दुईतले, ढुङ्गामाटोले बनेको घरमा सामान्य क्षति पुगेको छ ।
जिल्लाको लिखुपिके गाउँपालिका–४ लेब्लुु बस्ने कमलकिशोर कार्कीको ढुङ्गामाटो र टिनको छाना भएको तीनतले घर पनि भूकम्पकै कारणले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया