बेलबारी । पहिचान पक्षधरहरूले कोशी प्रदेशमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
प्रदेश नंम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आपतकालीन बैठकले तत्काल शव नबुझ्ने र सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल र पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान लिएको हो ।
संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रूपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।
बैठकले आज शुक्रबार बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्लामा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया