धरान : कुनैबेला धरान लाहुरेको सहर भनेर चिनिन्थ्यो । वा भनौँ, धरान भन्ने बित्तिकै लाहुरेको सहर भनिन्थ्यो । तर अहिले भने लाहुरेको सहरमा अधिकांश लाहुरेका परिवार पलायन हुँदै गएका छन् । उनीहरू बेलायततर्फ जाने र नेपाल नआउने बताइन्छ ।
पूर्वी पहाडी जिल्लाका अधिकाशं लाहुरेहरू निवृत्तिभरण भएर आइसकेपछि धरानमा बसोवास गर्थे ।
यसैले धरानलाई लाहुरेको सहर उप–नामले समेत चिनिन्थ्यो । धरान र ब्रिटिश लाहुरेहरूबीचको सम्बन्ध धेरै पुरानो हो । वि.सं. २०१० मा धरानमा ब्रिटिश गोर्खा सैनिक कार्यालय (भर्ती केन्द्र) स्थापना भएको थियो ।
गोर्खा भूपू सैनिकहरुले बेलायती सेना सरह पेन्सन लगायत अन्य सेवा सुविधाको माग राखेर आन्दोलन गरेसँगै उनीहरूको मागलाई बेलायत सरकारले सन् २००४ देखि पूर्वगोर्खा र उनीहरूका सन्तानलाई आवासीय अधिकार दिएको थियो ।
यस अधिकारसंगै भूपू सेनाका परिवारहरू बेलायत जान थाले भने बेलायतमा कार्यरत बहालवाला सेनाहरूसमेत उतै बस्न थाले ।
धरानमा रहेको भूपू सेनाका परिवारहरू छोराछोरीहरूलाई रोजगारका लागि अधिकांश अशक्त वृद्ध–वृद्धाहरू पनि आफ्ना सन्तानको पलायन हुने गरेको बताइन्छ ।
धरान १८ की मुना राईले आफ्ना बुबा ब्रिटिश आर्मी भएकाले बेलायत गएको र परिवार पनि उतै गएको सुनाइन् ।
‘परिवारका सबै सदस्यहरूसहित बुबा पनि बेलायतमा नै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘आफू गएसँगै आफ्ना छोराछोरीहरूलाई जानलाई सहज हुने र पढाइसँगै रोजगार पनि मिल्छ । त्यसैले पनि बेलायतमै ढुक्क छ ।’
छोराछोरीको पढाइ र रोजगारीका निम्ति बुबाकै नामबाट परिवार नै बेलायत गएको उनले सुनाइन् ।
‘उता गएपछि छोराछोरीको पढाइ पनि हुने, रोजगारी पनि पाइने भएकाले हामी आफ्नो जीवीकोपार्जनका निम्ति बेलायत गएका हौँ,’ उनले भनिन् ।
मुनाको परिवार प्रतिनिधि मात्र हो ।
उनीजस्तै धरान १३ की ५० वर्षीया बबिता राई पनि आफ्नो श्रीमान ब्रिटिस आर्मी भएकोले पछिल्लो समय सबैजना विदेशिएको बताइन् । छोराछोरी र नातिनातिाहरूको भविष्यका लागि आफू पनि उतै गएको उनी बताउँछिन् ।
हाल छोरा बुहारीसंगै बेलायतमा रहकी उनले बेलायतमै आफूपछिको पुस्ताको भविष्य देख्ने गरेकाले उतै बसेको उनको भनाइ छ ।
‘यहाँको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारको राम्रो व्यवस्था गरेकोले हामी मात्रै होइन, पछिल्लो समय अधिकांश लाहुरे परिवारहरू बेलायतमै छन्,’ उनी भन्छिन्, ‘हामी यता भएपनि धरानलाई माया मारेका छैनौँ । पछि नेपाल फर्किइयो भने धरान आउने हो ।’
दुई दशकअघिसम्म धरानमा हजारौंको संख्यामा ब्रिटिश लाहुरे रहेको जानकारहरू बताउँछन् । तर, अहिले धेरैजसो ब्रिटिश लाहुरेका सन्तानहरू बेलायत पलायन भएका छन् ।
जसकारण उनीहरूको घरमा आफन्तहरु तथा भाडामा मानिसहरू बस्दै आएका छन् भने कतिपयले भएको घर जमिन सबै बेचेर उतै पलायन भएका छन् ।
धरान ११ निवासी छविराज राईको परिवार पनि ५ वर्ष अघि स–परिवार बेलायत गएको बताउँछन् । उता जानुको मुख्य कारण रोजगारी नै रहेकोे उनले बताए । ‘यहाँ रोजगारीदेखि राम्रो सेवा सुविधा, वृद्ध वृद्धाहरूलाई पनि सरकारले राम्रो हेरचाह गर्ने हुँदा बिरामी भएका बुबाआमालाई सहज हुने भएकाले सबैजना यतै आएको हो,’ उनले भने ।
खासगरी पछिल्लो समय लाहुरेहरूबाट आउने रेमिट्यान्स पनि घटेको र नेपालमा भएको सम्पत्ति पनि बेचेर उतै घर किन्नलाई करोडौं रुपैंया बाहिर गइरहेकाको धरानको अर्थतन्त्रमा असर त परेकै छ नै, व्यापार व्यवसाय समेत घटेको अधिवक्ता दीपक कुमार बुढाथोकीले बताए ।
अझै पनि लाहुरेका सन्तानहरू विदेश जानका लागि आवश्यक डकुमेन्टहरू बनाइरहेको उनले सुनाए । ‘रोजगारको शिलशिलामा छिमेकी देश भारत, मलेसिया, दुबई लगायतका देशहरू गएका मानिसहरू त नेपाल फर्केर आउन गाह्रो हुन्छ भने बेलायत गएकाहरू फेरि फर्केर आउने सम्भावना नै न्यून देखिन्छ,’ उनले भने ।
धरान पूर्वको सुन्दर नगरीसँगै पुरानो सहर हो । यसको कारण भनेको कुनैबेला लाहुरमा गएर फर्किएकाहरूले बाहिर हुँदा देखेका, सिकेका कुराहरूलाई धरानमा प्रयोग गरेका थिए । फेसनको सहरसँगै सहरमा फूलहरू रोप्न, घरहरू आकर्षक बनाउनदेखि विभिन्न पार्कहरू पनि निर्माण गरिदैँ आएको थियो । त्यसैकारण धरान पूर्वको पुरानो सहर मानिन्छ ।
कुनै समय लाहुरेको सहर भनेर चिनिने धरान फेसनको सहर भनेर पनि चिनिने गर्दथ्यो । यो सबै लाहुरे समुदायले गर्दा नै भएको हो । युरोपमा सुरू भएको फेसन नेपालको सबैभन्दा पहिला धरानमा भित्रिएको जानकारहरू बताउँछन् ।
पहिला धरानमा बसोबास गर्ने मानिसहरू बेलायती, सिंगापुर, भारत लगायतका थिए । तर, अहिले उनीहरूका आफन्त पनि मुस्किलले भेटिन्छन् ।
लाहुरेहरूलाई देशमै रोकनका निम्ति राज्यको नीति नै नभएको बताउँछन्, स्थानीय भूपाल राई ।
‘बरू उल्टै नमिलेको डकुमेन्टहरूमा पनि मिलाउनका लागि राज्यले नै घुमाउरो पाराले सहयोग गरिरहेको छ,’ उनी भन्छन्, ‘नेपालमा सहजै रूपमा जीवीकोपार्जनका लागि रोजगार नमिल्ने भएकोले जे जति खर्च लागे पनि बाहिर नै जान खोज्ने प्रचलन बढ्दो छ ।’
धरान १७ का युवा व्यावसायी प्रतीक राईका अनुसार भूपू गोर्खाका अधिकाशं परिवारहरू आधा भन्दा बढी बेलायत गइसकेका छन् । राई भन्छन्, ‘मेरो पनि बाजे भूपू लाहुरे हुनुहुन्छ । बाजे बितिसक्नु भयो, बोजु हुनुहुन्छ । र पनि विदेश जान्छु भन्दा डकुमेन्ट मिलाउन सकिन्छ ।’
अधिकांश लाहुरेका परिवार विदेश जाँदा धरानको अर्थतन्त्रमा ठूलो प्रभाव परेको उनले बताए ।
प्रतिक्रिया