शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित

बुधबार, २४ पुस २०८१
नेपालगञ्ज : पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कार्ययोजना बनाएर सम्बन्धित निकायलाई शीतलहर व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिँदै स्थानीय तहलाई स्रोत व्यवस्थापन गर्न म्यान्डेट दिएको बताए। उनले भने, “चिसो र शीतलहरबाट प्रभावित भएका नागरिकलाई जोखिमबाट बचाउन कम्बल भण्डारण गरेर राखिएको छ ।” बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर बन्दा स्थानीयले आगो बालेर ताप्न थालेको दृश्य धेरै ठाउँमा देख्न सकिन्छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्किन कठिनाइ हुँदा बजारमा चहल पहल कममात्रामा देखिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले चिसोले गर्दा न्यानो कपडाको बिक्रीवितरण बढे पनि अन्य व्यापार व्यवसायमा मन्दी रहेको बताए । उनले शीतलहरका कारण अधिकांश सर्वसाधारण घरमै बसिरहेको उल्लेख गरे । चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले चिसो धेरै बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिलाई चिसोबाट जोगाउन आग्रह गरे । उनले अस्पतालमा चिसोले बिरामी भएका आउनेक्रम बढन थालेको जानकारी दिए । यसैबीच, नारायणगढबाट रासस प्रतिनिधिले मङ्गलबारदेखि लागेको बाक्लो हुस्सुका कारण चितवनको जनजीवन प्रभावित भएको जनाएका छन् । शीतका कारण सडकमा गुड्ने सवारी साधनहरूको चाप केहीमात्रामा घटेको छन् । मानिस बाहिर निस्किन सकेका छैनन् । चोकचोक तथा पसल अगाडि आगो फुकेर ताप्दै गरेको दृष्य देख्न सकिन्छ । शीतका कारण सडकहरू भिजेका छन् भने बाक्लो हुस्सु र चिसो हावाले यहाँको जनजीवनलाई प्रभावित बनाएको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् निर्मला रेग्मीका अनुसार अहिले यहाँ पानी परेको जस्तै देखिएको भए तापनि यो शीतलहर नै हो । उनले भने, “अहिले पानी पर्ने सम्भावना छैन । यो शीत नै हो ।” तराईमा थप एक दुई दिन यस्तै रहनसक्ने उनले बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकामा शीतलहरका कारण ठूलो प्रभाव परेको बताए । दीर्घरोगी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई यसले प्रभावित पारेको उनको भनाइ छ । महानगरपालिकाले तातोसँग बस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेको उनले बताए । शीतलहर बढ्दै गए आवश्यकता र मागअनुसार दाउराको व्यवस्थापन गर्न महानगर तयारी अवस्थामा रहेको उनको भनाइ छ । माडी नगरपालिकामा यतिबेला शीतसहित चिसोे हावाले त्यहाँको जनजीवन थप प्रभावित बनेको नगरपालिका प्रमुख ताराकुमार काजी महतोले जानकारी दिए । उनले भने, “चिसोका कारण विद्यार्थी र ज्येष्ठ नागरिक बढी सङ्ख्यामा प्रभावित भएका छन् ।” विद्यार्थी मात्रै नभएर सबै उमेर समूहका व्यक्तिहरू चिसोका कारण बिरामी पर्न थालेको आफूले जानकारी पाएको उनले बताए । उनका अनुसार टोल सुधार समिति टोलटोलमा दाउराको व्यवस्था गरेर आगो ताप्ने काम गरेका छन् । आगो ताप्दैगर्दा सुरक्षा अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले अहिलेसम्म चिसोका कारण त्यस्तो कुनै घटना नघटेको बताउँदै यस्तै अवस्था रहेमा सतर्कता अपनाउन जरूरी रहेको बताए । उनले भने, “केही दिन यस्तो रहे समस्या बढ्न सक्छ ।” शीतलहरका कारण स्वास्थ्यमा विभिन्न समस्या हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले चिसोका कारण श्वासप्रश्वासको समस्या बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरे । उनले भने, “अनावश्यक रूपमा बाहिर नहिडौँ । हिँड्नै परे न्यानो लुगा लगाएर मात्र हिडौँ ।” घरमा आगो तथा हिटर ताप्दा सावधानी अपनाएरमात्रै ताप्न उनले अनुरोध गरे। प्रशस्तमात्रामा झोलिलो पदार्थको सेवन गरी न्यानो कपडा लगाएर घरभित्र बस्ने उनले सुझाए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार