कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२

शनिबार, ११ चैत्र २०७९
विराटनगर । जनसंख्याको हिसाबले कोशी प्रदेश चौथो नम्बरमा परेको छ । काठमाडौंमा शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । कोशी प्रदेशमा राष्ट्रिय जनगणना २०६८ मा ४५ लाख ३४ हजार ९४३ जनसंख्या थियो । १० वर्षपछि ४ लाख २६ हजार ४६९ अर्थात् ९.४० प्रतिशतभन्दा बढीले जनसंख्या वृद्धि भएको हो । सबैभन्दा धेरै जनसंख्या भने बाग्मती प्रदेशमा छ भने सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशमा छ । जनगणनाको नतिजाअनुसार बाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८६६ जनसंख्या छ । मधेश प्रदेशमा ६१ लाख १४ हजार ६ सय, लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ७८ जना, सुदुरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३, गण्डकी प्रदेशमा २४ लाख ६६ हजार ४२७ र कर्णाली प्रदेशमा १६ लाख ८८ हजार ४१२ जना मात्रै जनसंख्या छ । लैगिक अनुपात हेर्दा सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा क्रमशः १००.५५ र ८९.५१ प्रतिशत छ । कोशी प्रदेशमा भने लैंगिक अनुपात ९५.०२, बाग्मती प्रदेशमा ९९.३६ प्रतिशत, गण्डकी प्रदेशमा ९०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा ९२.०१ प्रतिशत र कर्णाली प्रदेशमा ९५.२७ प्रतिशत छ । सबैभन्दा बढी जनसंख्या हुने पाँच जिल्लामध्ये कोशी प्रदेशका ३ जिल्ला छन् । जिल्लाहरुमध्ये काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको छ भने मनाङमा सबैभन्दा कम जनसंख्या छ । काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या हुँदा दोस्रो रहेको मोरङमा ११ लाख ४८ हजार १५६, तेस्रो नम्बरमा रहेको रुपन्देहीमा ११ लाख २१ हजार ९५७, चौथो नम्बरमा रहेको झापामा ९ लाख ९८ हजार ५४ र पाँचौं नम्बरमा रहेको सुनसरीमा ९ लाख २६ हजार ९६२ जना छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६५८, मुस्ताङमा १४ हजार ४५२, डोल्पामा ४२ हजार ७७४, रसुवामा ४६ हजार ६८९ र हुम्लामा ५५ हजार ३९४ जनसंख्या छ । जनसंख्या बढी वृद्धि हुने देशभरका पाँच जिल्लामध्ये कोशी प्रदेशको झापा जिल्ला पाँचौं नम्बरमा परेको छ । अघिल्लो जनगणना २०६८ मा ८ लाख १२ हजार ६५० जनसंख्या रहेको झापामा १.९७ प्रतिशत वृद्धि हुँदै ९ लाख ९८ हजार ५४ जना पुगेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार