मोरङ : निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन मिति कानुनमै तोकिने गरी संशोधन प्रक्रिया अघि बढेको बताएकी छन् ।
निर्वाचन आयोग नेपालद्वारा बिहीबार विराटनगरमा आयोजित स्थानीय तह उपनिर्वाचन २०८१ को समीक्षा कार्यक्रममा उनले निर्वाचनको मिति कानुनमा उल्लेख भएमा समयमा निर्वाचन सम्पन्न हुने बताइन् ।
डा. तुलाधरले आगामी निर्वाचन २०८४ लाई लक्षित गरी आयोगले कानुन संशोधन प्रक्रियाअघि बढाएको जानकारी दिइन् ।
विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेकाले संसदको आगामी अधिवेशनमा सूचीकरणमा परेको जानकारी आफूले प्राप्त गरेको उनले बताइन् ।
उनले भनिन्, “निर्वाचन आयोगले राष्ट्रपतिदेखि वडा तहसम्मको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले निर्वाचन कानुन संशोधन गरेर व्यवस्थित गर्न लागिएको हो ।” आयोगले महिलाको प्रतिनिधित्व बढाउने खालको व्यवस्था गर्न लागेको जानकारी दिइन् ।
समीक्षा कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन खर्चलाई ध्यान दिएर निर्वाचन कानुन संशोधन आवश्यक रहेको सुझाव दिए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया