जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिदा स्पेन र जापान अन्तिम १६ मा

शुक्रबार, १६ मंसिर २०७९
चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपको लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ । दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४-२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजामा भर पर्नु पर्दा जर्मनी घर फर्किन बाध्य भयो । अर्को खेलमा जापानले स्पेनमाथि सनसनी जित निकालेको थियो । विश्वकपको ग्रुप अफ डेथ मानिएको समूह ई मा दुई विश्व च्याम्पियन स्पेन र जर्मनी थिए। दुवैलाई पछि पार्दै एसियाली देश जापानले यो समूहको विजेताका रुपमा आफूलाई उभ्याएको छ । समूहमा दुवै टिममाथि जापान हावी भयो । स्पेनले उपविजेता बनेर नकआउटमा आफूलाई छनोट गरेको छ । यो समूहबाट जापान ६ अंकसहित विजेता बन्दा ४ अंकसहित स्पेन उपविजेता बन्यो । जर्मनीको समान ४ अंक नै भए पनि गोलअन्तरमा पछि परेको हो । खेलमा कोष्टारिकाले अग्रतासमेत बनाएको थियो । यदि यो खेलमा कोष्टारिका र अर्को खेलमा जापानले जितेको भए यसपल्ट विश्वकपबाट दुई पूर्व च्याम्पियन समूह चरणबाटै घर फर्किने निश्चित हुने थियो । सर्ज जिनेब्रीले ११औं मिनेटमै गोल गरेपछि पहिलो हाफमा जर्मनीले अग्रता लिएको थियो । तर, १२ मिनेटको अन्तरमा दुई गोल गर्दै कोष्टारिका खेलमा फर्कियो । ५८औं मिनेटमा एलस्टिन टेजेडा र ७०औं मिनेटमा जुवान भार्गासले गोल गरेका थिए । काइ हाभेट्जले लगातार दुई गोल गरी पुनः जर्मनीलाई अग्रता दिलाए । उनले ७३ र ८५औं मिनेटमा गोल गरेका थिए । ८९औं मिनेटमा निक्लस फुल्कर्गले गोल गरे पनि जर्मनीलाई नकआउट चरणमा पुग्न पर्याप्त रहेन । यता स्पेनमाथि २-१ गोल अन्तरको जित निकाल्दै एसियाली देश जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो । दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्कायो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापानको जित निश्चित बनेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार