लिम्बूवान भोलेन्टियरका नेतालाई लाठी प्रहार नगरेको प्रहरीको दाबी

शनिबार, ११ चैत्र २०७९
विराटनगर । प्रहरीको लाठी प्रहारबाट घाइते भएर उपचारका क्रममा मृत्यु भएका भनिएका पदम लिम्बूलाई कुटपिट नगरिएको प्रहरीले दाबी गरेको छ । प्रदेश नामकरण गर्दा पहिचानको कुरालाई बेवास्ता गरिएको भन्दै विराटनगरमा भएको आन्दोलनमा उनी पनि सहभागी थिए । चैत ५ गते भएको आन्दोलनका क्रममा लिम्बुले विरोध प्रदर्शनलाई संयमित बनाउन भूमिका निर्वाह गरिरहेका बेला आन्दोलनकारीकै लाठी प्रहारबाट उनी घाइते भएको प्रहरीको भनाइ छ । उत्तेजित भएका आन्दोलनकारीले प्रहरीलाई लाठी प्रहार गर्ने क्रममा लिम्बुको टाउकामा लागेको एक प्रहरी अधिकृतले बताएका छन् । उक्त दिन भएको आन्दोलनका क्रममा पटक पटक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यस क्रममा केही प्रहरी र केही आन्दोलनकारी घाइते भएका थिए । आन्दोलनकारीका तर्फबाट घाइते भएकाहरुको नामसहित जारी गरिएको विज्ञप्तिमा लिम्बुको नाम समावेश छैन । उक्त दिन प्रहरीको लाठी प्रहारबाट घाइते भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आन्दोलनकारी संगठनहरुले दाबी गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आन्दोलनको अग्रभागमा रहेर आन्दोलनकारीहरुलाई संयमित हुन र सुरक्षाकर्मीहरुलाई सहजीकरण गर्न आग्रह गरिरहेका थिए । त्यही बेला आन्दोलनकारीका तर्फबाट सुरक्षाकर्मीहरुमाथि आक्रमण हुन थालेपछि लिम्बूले रोक्ने प्रयास गरेका थिए । सार्वजनिक भएको एउटा भिडियोमा उनले आन्दोलनकारीलाई  संयमित हुन आग्रह गरिरहेको देखिएको छ । टाउकामा लाठी लागेपछिको अवस्थामा पनि उनी आन्दोलनलाई उग्र नब्नाउने प्रयासमा रहेको भिडियोमा देखिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवत्ता पोषराज पोखरेलले घटना हुनासाथ आन्दोलनकारीका तर्फबाट घाइते भएको सूचना नआएको बताएका छन् । उक्त प्रदर्शनको भोलिपल्ट विज्ञप्ति जारी गर्दै आन्दोलनकारी संगठनले घाइतेहरुको नाम सार्वजनिक गरेको थियो । त्यस विज्ञप्तिमा लिम्बु घाइते भएको भनिएको छैन । चैत ५ गतेको आन्दोलनमा घाइते भएको भनिए पनि ८ गतेमात्र उपचारका लागि अस्पताल लगिएको भनिएको प्रहरकिो भनाइ छ । उनको मृत्यु र आन्दोलनका दिन भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्ने भएको छ । चैत ६ गते ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा आलोक चाम्लिङ, रमेश राई, विशाल राई, दुर्गा राई घाइते भएको उल्लेख गरिएको थियो । उक्त विज्ञप्तीमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम, किरात राई यायोक्खाका अध्यक्ष ज्ञानबहादुर राई र नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पाले हस्ताक्षर गरका छन् । मोरङको बेलबारी घर भई धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लिम्बू कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । प्रहरीको लाठी प्रहारले घाइते भएको र उपचारका क्रममा मृत्यु भएको भन्ने विषय उठाएर आन्दोलन चर्काउने उद्देश्य राखिएको प्रहरीको दाबी छ । चैत ६ गते आन्दोलनकारीका तर्फबाट जारी भएको विज्ञप्ति–

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार